सुनबर्सीमा ट्र्याक्टर पल्टिँदा दुई जना घाइते ।

सुनबर्सीमा ट्र्याक्टर पल्टिँदा दुई जना घाइते ।

कोशी आवाज २०८२ मङ्सिर २९ गते सोमबार।

मोरङ । सुनबर्सी नगरपालिका–१, कालाबन्जरस्थित खेत जोतेर बाटोतर्फ निस्किने क्रममा प्र १–०१–००२ त ००१२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको छ।

प्रहरीका अनुसार सुनबर्सी नगरपालिका–१ का राजकिशोर यादवको नाममा रहेको उक्त ट्र्याक्टर सुनबर्सी नगरपालिका–१ का गणेश गनगाईको खेत जोतेर फर्किँदै गर्दा दुर्घटनामा परेको हो। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको र ट्र्याक्टर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्र्याक्टर चालक सुनबर्सी नगरपालिका–४ बस्ने २३ वर्षीय दिपेश यादवको बायाँ खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र रंगेली अस्पतालमा उपचारका लागि पठाइएको छ।

त्यस्तै, ट्र्याक्टरमा सवार खेतधनी सुनबर्सी नगरपालिका–१ बस्ने ३७ वर्षीय गणेश गनगाईको छातीमा चोट लागेको छ। उनको अवस्था पनि सामान्य रहेको र थप उपचारका लागि विराटनगरतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।