

झुम्का कारागारमा कैदीबन्दीको स्वास्थ्य परीक्षण, १३ जना धरानमा उपचाररत
कोशी आवाज २०८२ भदौ १९ गते बिहीबार ।
विराटनगर । झुम्का कारागारमा गएकाे राति ३५३ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणमा सहभागीमध्ये १३ जनाको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि उनीहरूलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। यस्तै, एक जना कैदी केही दिनदेखि विराटनगरमा उपचाररत छन्।
कारागारभित्र सामान्य बिरामीलाई तत्काल औषधि उपलब्ध गराइएको कारागार प्रशासनले जनाएको छ। चिकित्सकहरूले स्वास्थ्य अवस्थाको थप मूल्याङ्कनका लागि जाँच र नमुना सङ्कलन (स्याम्पल कलेक्सन) प्रक्रिया निरन्तर भइरहेको बताएका छन्।
बिरामी कैदीहरूमा देखिएको लक्षणका आधारमा प्रारम्भिक रूपमा ‘भाइरल फ्लु’ को आशंका गरिएको भए पनि हालसम्म अवस्था सामान्य रहेको कारागार प्रशासनले स्पष्ट पारेको छ।