

धनपालथानमा अटो र मोटरसाइकल ठोक्किँदा आमा–छोरा घाइते ।
२०८२ साउन २९ गते शुक्रबार।
मोरङ रंगेली । धनपालथान गाउँपालिका–४ बी.पी. चौकस्थित रंगेली–बिराटनगर हुलाकी सडक खण्डमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किँदा आमा–छोरा घाइते भएका छन्।
प्राप्त जानकारी अनुसार, रंगेलीबाट बिराटनगरतर्फ जाँदै गरेको को २ ह ४०४८ नम्बरको अटोले, बबिया टोलबाट ललिया धारतर्फ जाँदै गरेको को ३४ प १९९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकल चालक धनपालथान–४ ललिया धारका ३५ वर्षीय मुकेश मण्डललाई केही नभए पनि, सोही मोटरसाइकलमा सवार उनकी ३२ वर्षीया श्रीमती अनिता देवी मण्डलको टाउकोमा चोट लागी अवस्था मध्यम रहेको र २ वर्षीय छोरा अङ्कुश मण्डलको नाकमा चोट लागी अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते आमा–छोरालाई उपचारका लागि तत्काल बिराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको छ। दुर्घटनापछि अटो चालक रंगेली नगरपालिका–५ का ३१ वर्षीय अमोद राजबंशी तथा दुवै सवारी साधनलाई प्रहरी चौकी कर्सियाको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।