

नेपाली कांग्रेस मोरङका जिल्ला सदस्य वीरेन्द्रकुमार साहको राजीनामा, Gen Z आन्दोलनलाई समर्थन । कोशी आवाज २०८२ भदौ २४ मङ्गलबार ।
बिराटनगर । नेपाली कांग्रेस मोरङका जिल्ला सदस्य एवम् सूचना–सञ्चार तथा प्रचार विभाग प्रमुख वीरेन्द्रकुमार साहले पद र पार्टी दुवै सदस्यता परित्याग गरेका छन्।
साहले आज सार्वजनिक गर्दै भनेका छन्, “आजैको मितिदेखि म नेपाली कांग्रेस मोरङको जिल्ला सदस्य एवम् सूचना–सञ्चार तथा प्रचार विभाग प्रमुखको पदबाट राजीनामा दिएको घोषणा गर्दछु। साथै, पार्टीको साधारण सदस्यको जिम्मेवारी समेत त्याग गरेको कुरा पनि सार्वजनिक गर्दछु।”
उनले पछिल्ला घटनाक्रमले आफूलाई गहिरो चोट पुर्याएको उल्लेख गर्दै Gen Z आन्दोलनप्रति एक्यवद्धता जनाएका छन्। साहले भनेका छन्, “भ्रष्टाचार र बेथितिको विरुद्ध आवाज उठाउँदा देशका १९ जना निर्भीक युवाहरुले जीवन गुमाउनु परेको खबरले मेरो हृदय चिरिएको छ। न्याय र परिवर्तनका लागि बलिदान दिने यो पुस्ता हाम्रा लागि प्रेरणा बन्नुपर्ने हो तर दुर्भाग्यवश यो सरकार र यसको सारथि बनेको नेपाली कांग्रेस मौन दर्शक मात्र रह्यो।”
१५ वर्षदेखि विद्यार्थी राजनीतिमार्फत सक्रिय रहँदै प्रत्येक चरणमा निर्वाचित हुँदै आएको अनुभव स्मरण गर्दै साहले नेपाली कांग्रेसले जनताको विश्वास कायम राख्न नसकेको आरोप लगाएका छन्। उनले भने, “पार्टीमार्फत देश र समाजलाई केही गर्न सकिन्छ भन्ने ठूलो आशा बोकेर अघि बढेको थिएँ। तर दुर्भाग्यवश त्यही विश्वासलाई नेपाली कांग्रेसले कायम राख्न सकेन।”
साहले मानवता र समाजसेवाको बाटो निरन्तर अघि बढाउने प्रतिवद्धता जनाउँदै भनेका छन्, “नेपाली कांग्रेसको राजनीति छाडे पनि सयौँ बिरामीलाई निःशुल्क उपचार गर्ने, घरविहीनलाई सहयोग गर्ने र विपन्न जनताको आँसु पुछ्ने प्रयास निरन्तर जारी रहनेछ।”
राजीनामा पत्रमार्फत उनले आफ्ना कार्यकर्ता, शुभचिन्तक र जनसमुदायप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि देश, जनता र सत्यको पक्षमा जीवन समर्पित गर्ने बताएका छन्।