पत्रकार अनिल श्रेष्ठको ह्याट्रिकले नेपाल पत्रकार महासंघलाई मैत्रीपूर्ण खेलको उपाधि

पत्रकार अनिल श्रेष्ठको ह्याट्रिकले नेपाल पत्रकार महासंघलाई मैत्रीपूर्ण खेलको उपाधि

कोशी आवाज २०८२ कार्तिक १६ गते आइतबार ।

विराटनगर । पत्रकार अनिल श्रेष्ठको उत्कृष्ट प्रदर्शनले नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले विराटनगर जेसिसलाई पराजित गर्दै मैत्रीपूर्ण फुट्सल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार बिहान विराटनगरमा सम्पन्न एकदिवसीय खेलमा पत्रकार महासङ्घ मोरङले ४–१ को फराकिलो अन्तरले विजयी भएको हो।

खेलको सुरुवातमै विराटनगर जेसिसले अग्रता लिएको थियो। तर, त्यसपछिका केही मिनेटमै पत्रकार अनिल श्रेष्ठले बराबरी गोल गर्दै खेलमा फर्किए। पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा नेपाल पत्रकार महासङ्घले आक्रमक खेल प्रस्तुत गर्दै थप तीन गोल गर्न सफल भयो। तीमध्ये दुई गोल पनि अनिल श्रेष्ठकै नाममा रह्यो, जसले उनको ह्याट्रिक पूरा भयो। बाँकी एक गोल पत्रकार हरि अधिकारीले गरे।

श्रेष्ठको ह्याट्रिक र उत्कृष्ट प्रदर्शनका कारण उनलाई खेलको म्यान अफ द म्याच घोषित गरिएको थियो।

यो खेल विराटनगर जेसिसले आयोजना गरेको जेसिस विक को पहिलो दिनको आकर्षणको रूपमा राखिएको थियो। जेसिस विकका क्रममा हप्ताभर विभिन्न सामाजिक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।