मुक्ति समाज नेपालको केन्द्रीय बैठक सम्पन्न, दलित अधिकारका पक्षमा २१ बुँदे प्रस्ताव पारित।

मुक्ति समाज नेपालको केन्द्रीय बैठक सम्पन्न, दलित अधिकारका पक्षमा २१ बुँदे प्रस्ताव पारित।

कोशी आवाज २०८३ मङ्सिर ९ बिहिवार ।

बिराटनगर । नेकपा (एमाले) निकट जनसङ्गठन मुक्ति समाज नेपालको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक २१ बुँदे समसामयिक राजनीतिक प्रस्ताव तथा सङ्कल्पहरू पारित गर्दै सम्पन्न भएको छ।मंसिर ८ र ९ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष मनोहर विश्वकर्मा (पौडेल) को अध्यक्षतामा बसेको बैठकले वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै दलित समुदायको अधिकार रक्षा र विभेदविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ।बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनका बेला दलित समुदायप्रति क्षमायाचना तथा सुधारका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको भन्दै आलोचना गरेको छ।त्यस्तै, दलित समुदायको परम्परागत पेसा, कला तथा सीपको आधुनिकीकरणका लागि विनियोजित ‘भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम’ को बजेटमध्ये ठूलो रकम खर्च नभई फ्रिज भएको विषयमा आपत्ति जनाउँदै कार्यक्रम तत्काल सञ्चालन गर्न माग गरेको छ।

बैठकले जातीय हिंसा, विभेद तथा दलित समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही गर्न, विस्थापित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउन र न्यायिक छानबिन गर्न सरकारसँग माग गरेको छ।

यसैगरी, संविधानले सुनिश्चित गरेका दलित समुदायका मौलिक हक कार्यान्वयन गर्न एकीकृत कानुन निर्माण, भूमिहीन दलितलाई जग्गाधनी पुर्जा वितरण तथा लघुवित्त, मिटरब्याज र सहकारीपीडितको रकम फिर्ता गराउन माग गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताहरूको पूर्ण विवरण सार्वजनिक गर्न पनि बैठकले माग गरेको छ।

आगामी २०८४ सालमा हुने स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनमा आरक्षित सिटबाहेक अन्य निर्वाचन क्षेत्रमा समेत योग्य दलित व्यक्तिलाई उम्मेदवार बनाउन नेकपा (एमाले) लाई आग्रह गर्ने निर्णय बैठकले गरेको छ।

महासचिव अनुभूती बम नेपाली र उपमहासचिव तथा राष्ट्रियसभा सदस्य सोमनाथ पोर्तेललगायत नेताहरूले बैठकका निर्णयबारे जानकारी गराएका थिए। बैठकले दलित अधिकार, सामाजिक न्याय र संगठन सुदृढीकरणका लागि देशव्यापी जनजागरण अभियान सञ्चालन गर्ने सङ्कल्पसमेत गरेको छ।