संसारीमाई भगवती मन्दिरबाट चोरी भएको मूर्तिसहित २४ वर्षीय युवक पक्राउ

संसारीमाई भगवती मन्दिरबाट चोरी भएको मूर्तिसहित २४ वर्षीय युवक पक्राउ

कोशी आवाज २०८३ असोज २४ शनिबार ।

विराटनगर । मोरङको विराटनगरस्थित संसारीमाई भगवती मन्दिरबाट चोरी भएको दुर्गा भगवतीको मूर्तिसहित एक युवक पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म रानीबाट खटिएको बीआईटी टोलीले शनिबार दिउँसो विराटनगर महानगरपालिका–१५ स्थित नम्बर १ ढाटबाट भारततर्फ जाँदै गरेका धनकुटाको पाख्रिबास गाउँपालिका–८ निवासी २४ वर्षीय सुरज विकलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका अनुसार असोज २४ गते दिउँसो ४:२० बजे शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा विक भारततर्फ भाग्न खोजेका थिए। त्यसपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा उनलाई नियन्त्रणमा लिइएको थियो।

विकको साथबाट दुर्गा भगवतीको मूर्तिसहित मन्दिरका अन्य सामानसमेत बरामद भएको प्रहरीले जनाएको छ। सोधपुछका क्रममा विराटनगर महानगरपालिका–१० स्थित संसारीमाई भगवती मन्दिरबाट उक्त मूर्ति तथा सामान चोरी गरेको खुलेको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका विकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।