विराटनगरबाट २४ किलो ४०० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ ।
कोशी आवाज २०८३ असोज २१ गते बुधबार।
विराटनगर । प्रहरीले विराटनगरबाट २४ किलो ४०० ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहारको अररिया जिल्ला, फुलकाहा–१ का २० वर्षीय प्रवेशकुमार साह र २० वर्षीय सुरेशकुमार साह रहेका छन्।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार बुधबार बिहान करिब ११ः३० बजे विराटनगर महानगरपालिका–१८ स्थित रेल्वे क्षेत्रमा उनीहरूलाई पक्राउ गरिएको हो।
अस्थायी प्रहरी पोस्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले भारततर्फ जाँदै गरेको बीआर ३८ एई ०४९७ नम्बरको मोटरसाइकल शंकास्पद अवस्थामा रोकेर जाँच गरेको थियो। मोटरसाइकलमा राखिएका दुईवटा ठूला कालो प्लास्टिकका पोका जाँच गर्दा प्रतिबन्धित गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले गाँजा र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा ल्याएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले जानकारी दिए।