रङ्गेलीमा ९.३४ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित १८ वर्षीय युवक पक्राउ
खोशी आवाज २०८३ असोज १९ सोमबार ।
विराटनगर । मोरङको रङ्गेली नगरपालिका–५, ठाकुर टोलबाट प्रहरीले ९.३४ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना १८ वर्षीय युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुसार विशेष सूचनाका आधारमा सोमबार साँझ करिब ७ः१० बजे ठाकुर टोलबाट भेरुवाथानतर्फ पैदल हिँडिरहेका स्थानीय १८ वर्षीय कृष्णकुमार पासवानलाई शंकाका आधारमा चेकजाँच गरिएको थियो।
चेकजाँचका क्रममा पासवानले लगाएको जिन्स पाइन्टको दाहिने गोजीमा लुकाएर राखेको कालो प्लास्टिकको पोका फेला परेको प्रहरीले जनाएको छ। उक्त पोका खोलेर हेर्दा खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद पदार्थ प्लास्टिकसहित १३.०४ ग्राम र प्लास्टिक हटाउँदा ९.३४ ग्राम रहेको छ। प्रहरीले उनको साथबाट एक थान डिजिटल तराजु र एक थान मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका पासवानलाई बरामद पदार्थसहित इलाका प्रहरी कार्यालय रङ्गेलीमा ल्याई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय रङ्गेलीबाट करिब ३ किलोमिटर पूर्व–दक्षिणतर्फ पर्दछ। विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ।