अभिषेक गिरीका साढुभाइको घरमा मोरङ प्रहरीको खानतलासी, केही कागजात बरामद ।

अभिषेक गिरीका साढुभाइको घरमा मोरङ प्रहरीको खानतलासी, केही कागजात बरामद ।

कोशी आवाज २०८३ श्रावण ३ गते आइतबार ।

विराटनगर । मोरङ प्रहरीले अभिषेक गिरीका आफन्त विराटनगर–१, भट्टाचोकस्थित घरमा खानतलासी गरेको छ। प्रहरीले गिरीका साढुभाइ लक्ष्मी प्रसाईंको घरमा आइतबार दिउँसो खानतलासी गरी केही कागजात बरामद गरेको जनाएको छ।

मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रका अनुसार अनुसन्धानका क्रममा आवश्यक प्रमाण संकलन गर्ने उद्देश्यले खानतलासी गरिएको हो। गिरीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।

मोरङ प्रहरीले असार १३ गते गिरीलाई उनकै घरबाट नियन्त्रणमा लिएको थियो। कारागारभित्र अवैध असुली धन्दा चलाएको आरोपमा पक्राउ परेका गिरीलाई थुनामुक्त गर्न जिल्ला अदालत मोरङले असार २२ गते आदेश दिएपछि सीआईबीले उनलाई पक्राउ गरी काठमाडौं लगेको थियो।

सीआईबीका अनुसार निर्माण व्यवसायी सुवास श्रेष्ठलाई पहुँचका आधारमा ठेक्का पारिदिने भन्दै ठगी तथा आपराधिक विश्वासघात गरेको उजुरीका आधारमा गिरीमाथि अनुसन्धान भइरहेको छ। मोरङ प्रहरी र सीआईबीमा समेत उनीविरुद्ध उजुरी परेको जनाइएको छ।

प्रहरीका अनुसार गिरी यसअघि पनि विभिन्न आपराधिक घटनामा पक्राउ पर्दै आएका व्यक्ति हुन्। प्रहरीको क्रिमिनल डाटा सिस्टम (सीडीएस–सीआरएस) को अभिलेखअनुसार उनी पहिलो पटक २०५८ वैशाख १९ गते मोरङबाट पक्राउ परेका थिए। त्यसपछि कुटपिट, प्रहरीमाथि अभद्र व्यवहार, डाँका चोरी, सार्वजनिक अपराध तथा ज्यान मार्ने उद्योगलगायतका विभिन्न कसुरमा उनी पटक–पटक पक्राउ परेको प्रहरी अभिलेखमा उल्लेख छ।

पछिल्लो पटक २०७१ साउन १६ गते ललितपुरबाट शरीर बन्धक तथा अपहरणको कसुरमा पक्राउ परेका गिरीलाई जिल्ला अदालत ललितपुरले १० वर्ष कैद सजाय सुनाएको थियो। उक्त घटनामा उनको समूहले अच्युत रेग्मीलाई अपहरण गरी पाँच घण्टा बन्धक बनाएर १० लाख रुपैयाँ फिरौती लिएपछि मुक्त गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो।

गिरीले नौ वर्ष मोरङ कारागारमा कैद भुक्तान गरेको र कारागारमा रहँदा चौकीदारसमेत बनेको बताइएको छ। कैद भुक्तान गरी छुटेपछि उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएको जनाइएको छ।

पछिल्लो समय प्रहरीले गिरीमाथि अनुसन्धानका क्रममा विगतका आपराधिक गतिविधि तथा त्यसबाट आर्जन गरेको भनिएको सम्पत्तिसमेतको विवरण खोजी गरिरहेको छ। सोही अनुसन्धानको क्रममा पहिलोपटक उनका साढुभाइ लक्ष्मी प्रसाईंको घरमा खानतलासी गरी केही कागजात बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले बरामद कागजात र अन्य प्रमाणको अध्ययनपछि अनुसन्धानलाई थप अगाडि बढाउने जनाएको छ।