२७ वर्षदेखि दलित बस्तीमा वैदिक संस्कार सम्पन्न गर्दै सामाजिक समरसताको सन्देश दिँदै ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्त ।
कोशी आवाज २०८३ श्रावण ३ गते आइतबार ।
विराटनगर । बैतडी जिल्लाको पाटन नगरपालिका–८, खोड्पे जसुलीखाली निवासी संस्कारशिरोमणि ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले विगत २७ वर्षदेखि दलित बस्तीमा वैदिक परम्पराअनुसार धार्मिक संस्कार तथा कर्मकाण्ड सम्पन्न गराउँदै सामाजिक समरसता र जातीय विभेद उन्मूलनको अभियान सञ्चालन गर्दै आउनुभएको छ।
पण्डित पन्तका अनुसार उहाँले हालसम्म दलित समुदायमा सप्ताह ज्ञानमहायज्ञ, व्रतबन्ध, विवाह, नामकरण (न्वारन), वास्तुपूजा, गृहप्रवेशलगायत विभिन्न धार्मिक संस्कार तथा कर्मकाण्ड सम्पन्न गराउँदै आउनुभएको छ। उहाँको मुख्य उद्देश्य समाजमा विद्यमान सांस्कृतिक कुरीति र जातीय विभेद अन्त्य गर्दै समानता तथा धार्मिक सद्भाव प्रवर्द्धन गर्नु रहेको छ।
उहाँका अनुसार हालसम्म ३८ सप्ताह महायज्ञ, २४ शिवपुराण कथा, २९७ लघुरुद्राभिषेक, १८९ महारुद्राभिषेक, ३ हजार ९११ नामकरण संस्कार, ५६७ व्रतबन्ध, ७२२ सत्यनारायण पूजा, ६२२ ग्रहशान्ति, ३९ शतचण्डी महायज्ञ, ६२ अखण्ड रामायण पाठ, ५७९ स्वस्थानी व्रतकथा, ५५ त्रिपिण्डी श्राद्ध, ७९ गरुड पुराण, ७११ पार्वण श्राद्ध र ९३४ एकोदिष्ट श्राद्धलगायत सयौँ धार्मिक अनुष्ठान सम्पन्न गरिसक्नुभएको छ।
जिल्लाको प्रसिद्ध श्री बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिरका मुख्य पुजारी तथा राजज्योतिषी–राजगुरु पण्डित गणेशप्रसाद पन्तले सामाजिक सुधार अभियानअन्तर्गत दमाई, कामी, बादी, पोणे, कुमाललगायत विभिन्न शिल्पी समुदायका १ हजार ६९३ जनाको यज्ञोपवीत (जनेऊ) संस्कार सम्पन्न गराउनुभएको छ। त्यस्तै, ४११ जना दलित महिलालाई धार्मिक परम्पराअनुसार दूधागो (पवित्र रक्षासूत्र) धारण गराउनुभएको उहाँले बताउनुभयो।
पण्डित पन्तका अनुसार धर्मग्रन्थहरूमा दलित वा महिलामाथि जाति वा लिङ्गका आधारमा विभेद गर्नुपर्ने कुनै समर्थन छैन। उहाँले समाजमा अझै विद्यमान छाउपडी प्रथा, जातीय विभेद तथा सामाजिक कुरीति अन्त्य गर्न धार्मिक नेतृत्वको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।
उहाँले कानुनले अपराध मानेका कार्यहरू धार्मिक तथा सामाजिक स्तरबाट समेत अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। सुदूरपश्चिम नेपालका कतिपय स्थानमा अझै पनि ब्राह्मणहरू दलित बस्तीमा गएर नामकरण, विवाह वा व्रतबन्ध संस्कार गराउन हिच्किचाउने तथा श्मशानघाटमा समेत जातीय विभेद देखिने गरेको बताउँदै आफूले यही अवस्थाको अन्त्यका लागि सामाजिक अभियान सुरु गरेको उहाँको भनाइ छ।
पण्डित पन्तले आफूले वर्षौंदेखि दलित परिवारमा धार्मिक अनुष्ठान सम्पन्न गराउँदै आएको र सोही परिवारमा भोजनसमेत ग्रहण गर्ने गरेको बताउनुभयो। उहाँले दलित समुदायभित्र पनि आपसी जातीय विभेद देखिने गरेको भन्दै त्यसको समेत अन्त्य आवश्यक रहेको बताउनुभयो।
अथर्ववेदको महत्वबारे चर्चा गर्दै उहाँले आधुनिक विज्ञान तथा प्रविधिका विभिन्न अवधारणाहरू वैदिक ज्ञानबाट प्रेरित रहेको दाबी गर्नुभयो। शिल्पकार समुदायप्रति कुनै पनि प्रकारको विभेद धार्मिक तथा मानवीय दृष्टिले अनुचित हुने उहाँको भनाइ छ।
सामाजिक सुधारको अभियान सञ्चालन गरेका कारण आफ्नो परिवारसँग पुस्तौँदेखि जोडिएका ५७५ गैरदलित यजमान आफूबाट अलग भएको पण्डित पन्तले बताउनुभयो। साथै, सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी तथा आलोचनासमेत सहनुपरेको उहाँको भनाइ छ। यद्यपि, आफू धर्म, कर्तव्य र सामाजिक सेवाको मार्गबाट कहिल्यै विचलित नभएको उहाँले बताउनुभयो।
उहाँले जातीय विभेद गर्नेहरूविरुद्ध कानुनी कारबाही गर्न माग गर्दै प्रत्येक हिन्दु परिवारमा वेद, पुराण, शालिग्राम, तुलसी, शङ्ख, घण्टा तथा पञ्चायतन देवताको स्थापना हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। धर्मशास्त्रअनुसार मानव समाजमा महिला र पुरुष दुई प्राकृतिक वर्ग मात्र रहेको र जातीय उचनीचको कुनै धार्मिक आधार नरहेको उहाँको भनाइ छ।
भेदभावलाई बढावा दिने प्राचीन ग्रन्थहरूको समयानुकूल समीक्षा तथा संशोधन हुनुपर्ने र सबै धार्मिक स्थलमा सबै समुदायका लागि समान अधिकार तथा समावेशी पूजा पद्धति सुनिश्चित गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभएको छ।
सम्पर्क:
आचार्य पण्डित गणेशप्रसाद पन्त (पञ्चाङ्गकार)
पीठाधीश्वर, श्री बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर, बैतडी, नेपाल
मोबाइल: ९८६०२७८१००