“नेकपा तेह्रथुमको एकता बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न, २१५ सदस्य जिल्ला कमिटी घोषणा”
कोशी आवाज २०८३ असार २९ गते सोमबार ।
बिराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति तेह्रथुमको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेकपाका प्रदेस इन्चार्ज तथा पूर्व मुख्य मन्त्री क.राजेन्द्र राइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा प्रदेश सह-इन्चार्ज क. समर काफ्ले, प्रदेश संयोजक क.हर्क बहादुर नेम्बाङ “मिक्सो,” र क. दुर्गा चापागाईं “सचिन” लगायत केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो।
सरकारले महँगी नियन्त्रण र सुकुम्बासीको पुनर्बास नगरी बर्तमान समयमा जनविरोधी काम गरी निरंकुस हुदै गएको छ। जनताको अधिकार रक्षाको लागि वामपन्थी एकता तथा ध्रुवीकरण निरन्तर रहने भनि प्रमुख अतिथि प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री राईले बताउनुभयो । उनले पार्टी एकताका लागि पहिला पार्टीलाई बलियो बनाउनुपर्ने र सङ्गठन सुदृढीकरणमा ध्यान केन्द्रित गरिने बताए।
नेपाली जनताको बलिदानबाट संघीय संविधान प्राप्त भएको हो। अब, संघ, प्रदेश र स्थानीय तह सहितको प्रशासनिक र वित्तीय सङ्घीयता कसरी प्रभावकरी बनाउने भन्ने तर्फ बहस गर्न आवश्यक छ भनी प्रदेश सह इन्चार्ज काफ्लेले बताउनु भयो। त्यस्तैगरी संविधानप्रति शपथ लिएको सरकारलाई प्रदेश चाहिदैन भन्ने बहस गर्ने क्षेत्राधिकार रहेको छैन। संविधानले प्रदान गरेका मजदुर, किसान, महिला र सिमान्तकृत समुदायको स्वतन्त्रता, हकहितका लागि कम्युनिष्ट आन्दोलन एकतावद्द हुदै आएको छ। अब, नेकपालाई आगामी निर्वाचनमा विजयको शिखरमा पुर्याउन आजैबाट सुरु गर्न प्रदेश संयोजक मिक्सोले नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको थियो।
कार्यक्रममा १२५ सदस्यीय जिल्ला कमिटीको घोषणा सहित सपथ ग्रहण गरिएको एकता बैठकको अध्यक्षता जिल्ला संयोजक क. बलिराज इंनामले गर्नु भएको थियो भने संचालन सह-संयोजक क. कुमार कन्दंवाले गर्नु भएको थियो।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) लगायत दश बामपन्थी घटकको गत २०८२ कार्तिक १९ मा एकिकरण भै नेपालका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” संयोजकको रूपमा र माधवकुमार नेपाल पार्टीको सह संयोजक एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल तेस्रो वरीयतामा छन् भने चुनाव चिन्ह “तारा” रहने गरी एकिकरण भै नेपाली कम्युनिष्ट पार्टीको गठन भएको थियो। पार्टीले एकताको सन्देशलाई पार्टी पङ्क्ति र जनस्तरमा प्रवाह गर्न प्रदेश र जिल्ला तहमा एकता सन्देशसभा गर्ने निर्णय गरेको थियो। सोहीअनुरूप नेकपाले हालै प्रदेश एकता तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरि प्रदेशका १४ जिल्लामा एकता बैठक तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरे बमोजिम सुनसरी, ताप्लेजुङ र पाँचथर जिल्लामा कार्यक्रम गरिसकेको र आगामी दिनमा अन्य जिल्लामा समेत एकता तथा प्रशिक्षण कार्यक्रम गर्ने भनी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटी सदस्य सानु कार्की बस्नेतले जानकारी दिनुभएको छ।
उहाँले केन्द्रीय समिति बैठकबाट पार्टी नियमावली, पार्टीको आचार संहिता-२०८३ जारी भएको र हाल पार्टीको अनलाइनबाट सदस्यता नवीकरण तथा वितरणको कार्य समेत भइरहेको जानकारी दिनुभयो।