अमेरिकी प्रतिबन्धका बाबजुद पाकिस्तानले इरानसँग व्यापार करिडोर खोल्यो ।
कोशी आवाज २०८३ वैशाख १५ गते मंगलबार ।
विराटनगर । पाकिस्तानले इरानसँग व्यापार सहज बनाउन ग्वादर र कराँची बन्दरगाह खोल्ने घोषणा गरेको छ। पाकिस्तानको वाणिज्य मन्त्रालयले ‘पाकिस्तान मार्फत सामानको पारवहन’ आदेश २०२६ अन्तर्गत इरानी उत्पादनहरूको व्यापारका लागि छ वटा करिडोर सञ्चालनमा ल्याएको जनाएको छ। यी करिडोर प्रयोग गरेर इरानले पाकिस्तान हुँदै तेस्रो देशहरूसँग आयात–निर्यात गर्न सक्नेछ।
यो निर्णय अमरिकाले लगाएको प्रतिबन्ध र हर्मुजको जलडमरू क्षेत्रमा बढेको तनावका कारण इरानको व्यापार प्रभावित भइरहेका बेला आएको हो। अफगानिस्थानले भने दशकौंदेखि पाकिस्तानी बन्दरगाहमार्फत व्यापार गर्दै आएको छ। तर, इरानसँग आफ्नै बन्दरगाहहरू रहे पनि हालको परिस्थितिमा वैकल्पिक मार्ग आवश्यक परेको विश्लेषकहरू बताउँछन्।
विश्लेषकहरूका अनुसार पाकिस्तानको यो कदमले क्षेत्रीय व्यापार विस्तारमा सहयोग पुग्नेछ र इस्लामाबादलाई दक्षिण तथा मध्य एसियाबीचको व्यापारिक केन्द्रका रूपमा उभ्याउने सम्भावना बढाउनेछ। साथै,पाकिस्तानले इरान र अमेरिकाबीच मध्यस्थकर्ताको भूमिका खेलिरहेका बेला यसलाई विश्वास निर्माणको कदमका रूपमा पनि हेरिएको छ।
पाकिस्तानको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस आदेशले दुई देशबीचको पारवहन व्यापारलाई थप व्यवस्थित र पारदर्शी बनाउने उल्लेख छ। वाणिज्य मन्त्री जाम कमलका अनुसार, यसले पाकिस्तानको रणनीतिक महत्व बढाउनेछ र देशलाई क्षेत्रीय व्यापार करिडोर तथा रसद केन्द्रका रूपमा विकास गर्न मद्दत गर्नेछ।
पाकिस्तान र इरानबीच करिब ९०९ किलोमिटर लामो सीमा रहेको छ जहाँ तफ्तान,गाब्द र मन्ड–पिशिन जस्ता प्रमुख सीमा नाकाहरू सञ्चालनमा छन्। जारी तनावका बाबजुद दुवै देशबीचको नियमित व्यापार भने हालसम्म प्रभावित नभएको बताइएको छ।
पाकिस्तानको वाणिज्य मन्त्रालयका अनुसार,पाकिस्तान र इरानबीच अन्तर्राष्ट्रिय सडक व्यापार सम्बन्धी सम्झौता २००८ मा हस्ताक्षर भएको थियो