भोलि राजधानीमा कहाँ–कहाँ सवारी आवागमन प्रभावित हुन सक्छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि काठमाडौँका विभिन्न स्थानबाट र्‍याली निकालेर बल्खुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेकाले राजधानीका विभिन्न सडक खण्डमा सवारी आवागमन प्रभावित हुनसक्ने भएको छ ।

ट्राफिक प्रहरीले यसका लागि विभिन्न स्थानमा सवारी डाइभर्सनको व्यवस्था मिलाइने जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार निम्न स्थानहरुमा डाइभर्सन गरिनेछ:

मुख्य डाइभर्सन हुने स्थानहरू:

  • खसिबजार – मकालु – कलंकी चोक – बाफल
  • बल्खु चोक – कुलेश्वर – कालीमाटी चोक – टेकु
  • किर्तिपुर – सुन्दरीघाट – सानेपा – एकान्तकुना

आवश्यकताअनुसार थप डाइभर्सन गरिन सक्ने सम्भावित स्थानहरू:

  • त्रिपुरेश्वर
  • बालाजु
  • हलचोक
  • नैकाप
  • सितापाईला
  • चोभार
  • फर्पिङ
  • नख्खु दोबाटो
  • कोटेश्वर

पार्किङका लागि तोकिएका स्थानहरू:

  • टियू गेटदेखि चोभार सडक खण्ड
  • सानेपा करिडोर सडक (दुबै तर्फ)
  • चोभार सुख्खा बन्दरगाह
  • नयाँ बसपार्क
  • सितापाईला–बाफल सडकको एक लेन

यसका साथै, नेपाल शिक्षक महासंघले माइतिघर मण्डलामा भेला भइ बानेश्वर र माइतिघर सडक खण्डको बीचमा कार्यक्रम गर्ने र सहकारी तथा लघुवित्त पिडितले शान्तिबाटिकामा धर्ना दिने जानकारी प्राप्त भएकाले ती क्षेत्रहरूमा समेत सवारी व्यवस्थापन परिवर्तन हुन सक्ने ट्राफिक महाशाखाले जनाएको छ ।

सवारी चालकहरूलाई उक्त प्रभावित स्थानहरूमा जाममा नपर्नका लागि बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध छ ।