प्रतिनिधिसभा निर्वाचन: उम्मेदवारी दर्ताको समय सार्ने तयारी, आयोग सकारात्मक
कोशी आवाज २०८२ माघ ४ गते आइतबार ।
विराटनगर । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने समय सार्ने तयारी भइरहेको छ। विभिन्न राजनीतिक दलहरूको आग्रहपछि निर्वाचन आयोग मनोनयन दर्ताको समय पछाडि सार्ने विषयमा सकारात्मक देखिएको स्रोतले जनाएको छ।
निर्वाचन आयोगका स्रोतका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका प्रमुख राजनीतिक दलहरूले उम्मेदवारी मनोनयन दर्ताको समय सार्न औपचारिक आग्रह गरेका छन्। दलहरूले माघ १५ गतेदेखि मसान्तसम्म उम्मेदवारी दर्ताको समय कायम गर्न माग गरेको बताइएको छ। यद्यपि, आयोगले हालसम्म यस विषयमा औपचारिक निर्णय भने गरिसकेको छैन।
दलहरूको निरन्तर दबाब र आग्रहपछि आयोगले यस विषयमा आन्तरिक छलफललाई तीव्रता दिएको जनाएको छ। विशेषगरी नेपाली कांग्रेसभित्र देखिएको आधिकारिकताको विवाद अदालतसम्म पुगेकाले आधिकारिकता नपाउने पक्षलाई नयाँ दलका रूपमा दर्ता हुन थप समय आवश्यक पर्ने तर्कसमेत प्रस्तुत गरिएको छ।
स्रोतका अनुसार अधिकांश प्रमुख राजनीतिक दलबाट संयुक्त रूपमा आग्रह आएमा उम्मेदवारी दर्ताको समय बढीमा एक हप्तासम्म थप्ने विकल्पबारे निर्वाचन आयोगभित्र छलफल भइरहेको छ। आयोगले सबै पक्षको अवस्था मूल्याङ्कन गरी छिट्टै निर्णय गर्ने संकेत गरेको छ।