रङ्गेली–६ स्थित श्री पब्लिक माविमा २५ लाखको शौचालय प्रयोगविहीन, बजेट दुरुपयोगको आशंका
कोशी आवाज २०८२ माघ ४ गते आइतबार ।
मोरङ । रङ्गेली नगरपालिका वडा नं. ६ मा रहेको श्री पब्लिक माध्यमिक विद्यालयमा निर्माण गरिएको शौचालय (ट्वाइलेट) हालसम्म प्रयोगमा नआउँदा सरकारी बजेटको दुरुपयोग भएको आशंका गरिएको छ।

विद्यालयमा यसअघि कक्षा १ देखि ५ सम्मका कक्षाहरू सञ्चालनमा थिए। सोही अवधिमा करिब ३–४ वर्षअघि २५ लाख रुपैयाँ लागतमा विद्यालय परिसरमै शौचालय निर्माण गरिएको थियो। तर शौचालय सञ्चालनमा आएलगत्तै सो विद्यालयबाट कक्षा १ देखि ५ सम्मका कक्षाहरू अर्को भवनमा सारिएपछि उक्त शौचालय पूर्ण रूपमा प्रयोगविहीन बनेको छ।
स्थानीयका अनुसार आवश्यकताको स्पष्ट मूल्यांकन नगरी शौचालय निर्माण गरिएको र कक्षा सारिने पूर्वयोजना हुँदाहुँदै पनि ठूलो रकम खर्च गरिएको देखिन्छ। यसले विद्यालय विकासका नाममा जथाभावी रूपमा बजेट खर्च गरिएको आशंका उत्पन्न भएको स्थानीयवासीहरूको गुनासो छ।
हाल उक्त शौचालय प्रयोग नहुँदा लाखौँ रुपैयाँको सार्वजनिक सम्पत्ति खेर गइरहेको अवस्था छ। यस विषयमा सम्बन्धित निकाय, विशेषगरी रङ्गेली नगरपालिकाले स्पष्ट जवाफ दिनुपर्ने माग स्थानीय सरोकारवालाहरूले गरेका छन्।
सार्वजनिक शिक्षण संस्थासँग सम्बन्धित यस्ता योजनामा पारदर्शिता, दीर्घकालीन आवश्यकता र प्रभावकारी अनुगमन आवश्यक रहेको उनीहरूको भनाइ छ। यदि यस्ता कमजोरी दोहोरिँदै जाने हो भने विकासका नाममा बजेटको दुरुपयोग रोकिने अवस्था नरहने चेतावनीसमेत दिइएको छ।