बबिया बिर्ता युवा क्लबद्वारा आयोजित टोलस्तरीय लिग फुटबल प्रतियोगिताको लिग चरण सम्पन्न ।

बबिया बिर्ता युवा क्लबद्वारा आयोजित टोलस्तरीय लिग फुटबल प्रतियोगिताको लिग चरण सम्पन्न ।

कोशी आवाज २०८२ पुस २४ गते बिहीबार ।

मोरङ । बबिया बिर्ता युवा क्लबको आयोजनामा सञ्चालित टोलस्तरीय लिग फुटबल प्रतियोगिताको लिग चरणका सबै खेलहरू सम्पन्न भएका छन्। प्रतियोगिताअन्तर्गत मिति २०८२/०९/२३ र २०८२/०९/२४ गते विभिन्न रोचक खेलहरू सम्पन्न भएका हुन्।

मिति २०८२/०९/२३ गतेका खेल परिणाम

पहिलो खेल सगरदिना र नहरटोलबीच सम्पन्न भयो। उक्त खेलमा सगरदिनाले नहरटोललाई १–० गोलअन्तरले पराजित गर्दै विजय हासिल गर्‍यो। सगरदिनाको जितमा जर्सी नं. ९ का गजेन माझीले निर्णायक गोल गरेका थिए। उनी नै उक्त खेलको म्यान अफ द म्याच घोषित भई समाजसेवी तथा बुद्धिजीवी, साना किसान सहकारी बबिया बिर्ताका प्रबन्धक श्री भिमबहादुर बास्तोला ज्यूको हातबाट सम्मानित भए।

त्यसैगरी दोस्रो खेल बबिया र जलियाबीच भएको थियो। बबियाले जलियालाई ३–० गोलअन्तरले पराजित गर्‍यो। बबियाका जर्सी नं. ७ का अमन खवास, जर्सी नं. १२ का प्रभास खवास र जर्सी नं. ३ का हरी खवासले जनही एक–एक गोल गरेका थिए। उक्त खेलको म्यान अफ द म्याच बबियाका जर्सी नं. ७ का अमन खवास घोषित भए, जसलाई बबिया बिर्ता खेल समितिका संयोजक श्री मोहवत धामी थारु ज्यूको हातबाट सम्मान प्रदान गरिएको थियो।

मिति २०८२/०९/२४ गतेका खेल परिणाम

पहिलो खेल हाटखोला र बेहोलुवाबीच सम्पन्न भयो। खेलमा बेहोलुवाले हाटखोलालाई ३–० गोलअन्तरले पराजित गर्‍यो। बेहोलुवाका जर्सी नं. १० का सुदिप सोरेनले २ गोल तथा जर्सी नं. ५ का जेम्स सोरेनले १ गोल गरेका थिए। उक्त खेलको म्यान अफ द म्याच हाटखोला टिमका गोलकिपर आर.एन. मर्डी घोषित भए, जसलाई समाजसेवी तथा बुद्धिजीवी श्री नरेश लामिछाने ज्यूको हातबाट सम्मान गरिएको थियो।

त्यसैगरी दोस्रो खेल बैठार र मंगलवारेबीच भएको थियो। बैठारले मंगलवारेमाथि ४–० को शानदार जित दर्ता गर्‍यो। बैठारका जर्सी नं. ११ का योगेश खवासले ह्याट्रिक (३ गोल) पूरा गरे भने जर्सी नं. ९ का बिकेश मर्डीले १ गोल थपे। योगेश खवास नै उक्त खेलको म्यान अफ द म्याच घोषित भई रंगेली नगरपालिका वडा नं. २ का वडा अध्यक्ष ज्यूको हातबाट सम्मानित भए।

लिग चरणको अंकतालिका

समूह (A)
१. सगरदिना — ९ अंक (५–०)
२. बेहोलुवा — ४ अंक (३–२)
३. नहरटोल — ४ अंक (२–१)
४. हाटखोला — ० अंक (०–७)

समूह (B)
१. बबिया — ७ अंक (७–१)
२. बैठार — ७ अंक (६–१)
३. जलिया — १ अंक (०–४)
४. मंगलवारे — १ अंक (०–७)

अंकको आधारमा समूह (A) बाट सगरदिना प्रथम र बेहोलुवा द्वितीय भएका छन् भने समूह (B) बाट बबिया प्रथम र बैठार द्वितीय भएका छन्।

सेमिफाइनल र फाइनल खेल तालिका

आयोजक बबिया बिर्ता युवा क्लबको निर्णयअनुसार

पहिलो सेमिफाइनल:
मिति २०८२/०९/२५ गते दिउँसो २ बजे
सगरदिना (समूह A प्रथम) VS बैठार (समूह B द्वितीय)

दोस्रो सेमिफाइनल:
मिति २०८२/०९/२६ गते (शनिबार) दिउँसो २ बजे
बबिया (समूह B प्रथम) VS बेहोलुवा (समूह A द्वितीय)

फाइनल खेल:
मिति २०८२/०९/२७ गते दिउँसो
समूह (A) को विजेता VS समूह (B) को विजेताबीच हुनेछ।

बबिया बिर्ता युवा क्लब परिवारले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी, दर्शक, स्थानीयवासी तथा सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गरेको छ।