मोरङ–२ मा प्रतिनिधि सभा उम्मेदवार सिफारिसमा कांग्रेसभित्र रस्साकस्सी ।

मोरङ–२ मा प्रतिनिधि सभा उम्मेदवार सिफारिसमा कांग्रेसभित्र रस्साकस्सी ।

कोशी आवाज २०८२ मंसिर २३ गते मंगलवार ।

विराटनगर, ।  आगामी निर्वाचन नजिकिँदै जाँदा मोरङ–२ क्षेत्रका सम्भावित प्रतिनिधि सभा उम्मेदवारबारे नेपाली कांग्रेसभित्र ठूलो स्तरमा रस्साकस्सी र शक्ति–प्रदर्शन सुरु भएको छ।

नेपाली कांग्रेसले तल्ला तहमा उमेदवार सिफारिसका लागि सर्कुलर पठाएपछि मोरङका विभिन्न क्षेत्रमा नाम सिफारिस हुन थालेका छन्। मोरङ–३ बाट सुनिल शर्माको एकल नाम सिफारिस भइसकेको छ।

तर मोरङ–२ मा भने कांग्रेसभित्रै पाँच जना आकांक्षी नेताहरू देखिएका कारण अहिलेसम्म एकल मत बनाउन सकिएको छैन। यो क्षेत्रलाई कांग्रेसको परम्परागत बलियो क्षेत्र मानिँदै आएको छ, जसले प्रतिस्पर्धा झनै चर्किएको छ।

कस–कसले दाबी गर्दैछन् ?

१. डा. मिनेन्द्र रिजाल — शेखर कोइराला समूहतर्फबाट
२०१७ (२०७४) मा यसै क्षेत्रबाट प्रतिनिधि सभा सदस्य रहेका कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजाल यसपटक पनि प्रबल दाबेदारका रूपमा अघि रहेका छन्।

२. बिनोद कार्की — गगन थापा समूहतर्फबाट
२०७९ को प्रदेशसभा चुनावमा पराजित भएका कार्कीले यसपालि प्रतिनिधि सभामा दाबी पेस गरेका छन्।

३. यदु विष्ट — गगन समूह
जिल्ला सभापति पदमा पराजित भएका विष्टले आफूलाई सिफारिस गर्न सक्रिय लबिङ गरिरहेका छन्।

४. शिवनारायण सिंह — गगन समूह
पूर्वप्रदेशसभा सदस्य सिंह पनि सिफारिसका बलियो आकांक्षी मानिन्छन्।

५. मदन सङ्ग्रौला — कृष्णप्रसाद सिटौला समूह
कांग्रेस कोशी प्रदेश सदस्य तथा संगठन विभाग प्रमुख सङ्ग्रौलाले पनि आफ्नो दाबी स्पष्ट रूपमा अघि सारेका छन्।

एकल सिफारिस सम्भावना कमजोर

सोमबार डायनियास्थित बीपी कोइराला केन्द्रमा बसेको बैठकले उम्मेदवार सिफारिसमा एकमत बन्न नसकेपछि निर्णय रोकिएको छ।

कांग्रेसभित्रका नेताहरूका अनुसार शेखर कोइराला समूहतर्फबाट डा. मिनेन्द्र रिजालले टिकट पाउने सम्भावना बढिरहेको छ। यद्यपि, यो क्षेत्र “बाहिरबाट आएका उमेदवार” भन्दा स्थानीय नेतालाई प्राथमिकता दिनुपर्ने दबाब रहेका कारण अन्तिम निर्णय सजिलो नहुने देखिन्छ।

स्रोतका अनुसार मोरङ–२ क्षेत्रमा एकल सिफारिस आउने सम्भावना न्यून रहेको छ, र अन्तिम निर्णय केन्द्रले नै लिनुपर्ने अनुमान छ।