

बेलबारीमा तीन सवारी ठोक्किँदा एक महिला घाइते । कोशी आवाज २०८२ भदौ १८ गते बुधबार ।
मोरङ उर्लाबारी । मोरङको बेलबारी नगरपालिका–३ सिसौली चोकस्थित पूर्व–पश्चिम राजमार्गमा तीन सवारी ठोक्किँदा एक महिला घाइते भएकी छन्।
बेलबारीबाट लक्ष्मीमार्गतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ च ०४२५ नम्बरको पिकअपले सोही दिशातर्फ जाँदै गरेको को १ ह ८५८१ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिँदा अटो अनियन्त्रित भई बेलबारी नगरपालिका दर्ता नम्बर ५८ को सिटी सफारीसँग ठोक्किएको हो।
दुर्घटनामा अटोमा सवार बेलबारी–४ की ४२ वर्षीया गंगामाया सुनुवारको टाउकोमा चोट लागी घाइते भएकी छन्। उनलाई उपचारका लागि विराट नर्सिङ होम, विराटनगर पठाइएको छ। प्रहरीका अनुसार उनको अवस्था सामान्य छ।
दुर्घटनापछि पिकअप (चालक सुनवर्षी–६ का २५ वर्षीय निशान बुढाथोकी), अटो (चालक बेलबारी–४ का ४५ वर्षीय सोमबहादुर सुनुवार) र सिटी सफारी (चालक बेलबारी–३ का ४० वर्षीय तारा बहादुर सार्की) इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेका छन ।