

बिराटनगरमा मोटरसाइकल र मिनिट्रक ठोक्किँदा दुई जना घाइते कोशी आवाज २०८२ भदौ १८ गते बुधबार ।
बिराटनगर । विराटनगर महानगरपालिका–३ खार्जीस्थित कोशी लोकमार्गमा मोटरसाइकल र मिनिट्रक एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
टंकिबाट कञ्चनबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–०४१ प ४२०४ नम्बरको मोटरसाइकलले सडक क्रस गर्दै गरेको को १ क २५६९ नम्बरको मिनिट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी, धरान उपमहानगरपालिका–१७ का २६ वर्षीय समिर शेख र पछाडिका सवार ३० वर्षीय सन्देश राई घाइते भएका हुन्।
दुर्घटनामा शेखको दुबै हातखुट्टामा चोट लागेको छ भने राईको टाउको, अनुहार र दुबै हातमा चोट लागेको प्रहरीले जनाएको छ। दुवैलाई उपचारका लागि विराट टिचिङ अस्पताल गंगाचोक पठाइएको छ र अवस्था सामान्य रहेको बताइएको छ।
दुर्घटनापछि मिनिट्रक चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। दुबै सवारी साधन भने प्रहरी चौकी बरगाछीको नियन्त्रणमा छन् ।