

सुनसरीमा लागुऔषध ब्राउन सुगर सहित दुई युवक पक्राउ ।
कोशी आवाज २०८२ भदौ १० गते मंगलबार ।
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ पाचौसिमर सिमाक्षेत्रबाट आज दिउँसो लागुऔषधसहित दुई जना युवक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगञ्जबाट सप्रह दीपेन्द्र कुमार खत्रीको कमाण्डमा खटिएको पाँच जनाको चेकजाँच टोलीले भारततर्फबाट नेपालतर्फ प्रवेश गर्दै गरेको एक मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रदेश १–०२–०४३ प ९०२१ नम्बरको मोटरसाइकल चालक देवानगञ्ज गाउँपालिका–३ मेहता टोलका २४ वर्षीय दिपेन मेहता र पछाडि सवार १८ वर्षीय चन्दन मल्लिकलाई शंका लागि रोकेर तलासी गर्दा मेहताको साथबाट प्लास्टिकमा राखिएको ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ १.१२ ग्राम फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको लागुऔषधसहित दुबै जना र प्रयोग गरिएको मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।