

तिआन्जिनमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटघाट ।
कोशी आवाज २०८२ भदौ १५ गते आइतबार ।
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतवार तिआन्जिनमा भेटघाट भएको छ।
प्रधानमन्त्री मोदीले आफ्ना सामाजिक सञ्जाल खाताहरू फेसबुक र एक्समार्फत् उक्त भेटबारे जानकारी दिँदै लेखेका छन्, “नेपालका प्रधानमन्त्री केपी ओलीसँग तिआन्जिनमा भेटेर खुशी लाग्यो। नेपालसँग भारतको एकदमै गहिरो र निकै विशेष सम्बन्ध रहेको छ।”
तर, भेटघाटका क्रममा दुई नेताबीच के–कस्तो कुराकानी भयो भन्नेबारे भने मोदीले कुनै उल्लेख गरेका छैनन्। दुवै देशका अधिकारीहरूले पनि यसअघि भेट हुने विषयमा जानकारी दिएका थिएनन्।
तिआन्जिनमा भइरहेको साङ्घाई कोअपरेसन अर्गनाइजेशन (एससीओ) को शिखर बैठकको ‘साइडलाइन’ मा दुई नेताबीच अनौपचारिक भेट भएको हो।
यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेटवार्ता गरेका थिए। सो क्रममा उनले लिपुलेकबारे भारत–चीनबीच हालै भएको सहमतिको विषयमा आपत्ति प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो।