आईजीपी केसीद्वारा सचिवालय चुस्त बनाउने तयारी, एसएसपी प्रवीण पोखरेललाई सचिवालयमा जिम्मेवारी ।
कोशी आवाज २०८३ कार्तिक २२ गते आइतबार ।
बिराटनगर । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले प्रहरी प्रधान कार्यालयअन्तर्गत आफ्नो सचिवालयलाई थप चुस्त, व्यवस्थित र प्रभावकारी बनाउने तयारी थालेका छन्। यसैक्रममा उनले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रवीण पोखरेललाई सचिवालयमा ल्याएका छन्।
यसअघि राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत पोखरेल विगत १८ महिनादेखि त्यहीँ जिम्मेवारीमा थिए। यसअघिका आईजीपीहरूको कार्यकालमा समेत विभिन्न प्रहरी कार्यालयमा अवसर नपाएका पोखरेललाई आईजीपी केसीले आफ्नो सचिवालयमा जिम्मेवारी दिएका हुन्।
संगठनभित्र कम बोल्ने तर नीति तथा योजना निर्माण र परिमार्जनमा राम्रो दख्खल राख्ने अधिकृतका रूपमा परिचित पोखरेललाई केसीले सचिवालयमा ल्याएको बताइएको छ। यसैगरी डीएसपी सत्य थापालाई पनि सचिवालयमा जिम्मेवारी दिइएको छ।
आईजीपी केसीले तत्काल सचिवालयको पुरानो संरचनामा ठूलो परिवर्तन नगर्ने रणनीति लिएका छन्। निवर्तमान आईजीपी दानबहादुर कार्कीले सचिवालयमा राखेका एसएसपी दीपशमशेर जबरा, एसपी धर्मराज भण्डारी र डीएसपी हरि खतिवडालाई तत्काल यथावत् राखिएको छ।
तिहारपछि समयावधि पुगेका एसएसपी, एसपी, डीएसपी र प्रहरी निरीक्षकहरूको सरुवा गर्ने तयारीसँगै सचिवालय तथा उजुरी छानबिन महाशाखामा समेत कर्मचारी हेरफेर हुन सक्ने बताइएको छ।
त्यसैगरी, निवर्तमान आईजीपी कार्कीले सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल निगरानी तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी डेस्कका गतिविधिमध्ये सर्वसाधारणलाई एआईमार्फत सूचना उपलब्ध गराउनेबाहेक अन्य गतिविधि रोक्न आईजीपी केसीले निर्देशन दिएको समाचारमा उल्लेख छ।
तिहारपछि केही प्रहरी नायब महानिरीक्षक (डीआईजी) को समेत सरुवा हुने सम्भावना रहेको छ। केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारीमा डीआईजी भूपेन्द्र खत्री वा डीआईजी दीपेन्द्र घर्ती क्षेत्रीमध्ये एक जनालाई ल्याउने तयारी भइरहेको बताइएको छ।
आईजीपी केसीले प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दै प्रहरी कर्मचारीलाई विचलित नभई इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्। साथै संगठनभित्र भाइचारा र एकता कायम राख्न तथा संगठनविरुद्ध बाहिर गएर अभिव्यक्ति नदिन पनि सचेत गराएका छन्।