रतुवामाईमा प्रहरीको गोली चल्यो, दुई भारतीय नागरिक घाइते; ५०० ग्राम ब्राउन सुगर र पेस्तोल बरामद ।

रतुवामाईमा प्रहरीको गोली चल्यो, दुई भारतीय नागरिक घाइते; ५०० ग्राम ब्राउन सुगर र पेस्तोल बरामद ।

कोशी आवाज २०८३ कार्तिक १३ गते शुक्रबार।

बिराटनगर  । मोरङको रतुवामाई नगरपालिका–६ शनिश्चरेमा बिहीबार राति प्रहरीले गोली चलाउँदा दुई जना भारतीय नागरिक घाइते भएका छन्। प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरणमा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरेको छ।

लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा राति करिब ९ः३० बजे चेकजाँचमा पुगेको लागुऔषध नियन्त्रण ब्युरो काठमाडौं र विराटनगरको संयुक्त प्रहरी टोलीले दुईवटा मोटरसाइकलमा सवार तीन जनालाई रोक्ने प्रयास गरेको थियो।

प्रहरीका अनुसार नियन्त्रणमा लिन खोज्दा उनीहरू भाग्न खोज्नुका साथै प्रहरीमाथि गोली प्रहार गर्ने प्रयास गरेपछि प्रहरीले प्रतिकारस्वरूप आठ राउन्ड गोली चलाएको थियो।

गोली लागेर भारतको अररिया क्षेत्रका २२ वर्षीय दीपककुमार बोसाक र ४० वर्षीय पुरन बोसाक घाइते भएका छन्। दुवैको घुँडामुनि गोली लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको छ।

घटनामा भारतीय नागरिकद्वय बोसाकसहित रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट करिब ५०० ग्राम खैरो हेरोइन (ब्राउन सुगर), एक थान होममेड पेस्तोल, एक राउन्ड गोली र दुईवटा मोटरसाइकल बरामद गरेको जनाएको छ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको छ।

प्रहरीले बरामद हतियार तथा लागुऔषधको स्रोत, कारोबारको सञ्जाल र घटनामा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान अघि बढाएको जनाएको छ।