कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिका लागि आवास र भोजनको व्यवस्था ।
कोशी आवाज २०८३ असोज २२ गते बिहीबार
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम एक दिन पर सरेपछि महाधिवेशन प्रतिनिधिहरूलाई परेको असहजतालाई मध्यनजर गर्दै आवास तथा भोजनको व्यवस्था गरिने भएको छ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद दुलालले असोज २२ गते जारी गरेको सूचनाअनुसार निर्वाचन समितिले असोज २३ गते बिहान ७ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान गर्ने गरी कार्यक्रम परिमार्जन गरेको छ।
एक दिन महाधिवेशन लम्बिँदा आवासमा समस्या परेका प्रतिनिधिहरूले आफ्नो क्षेत्रका क्षेत्रीय सभापतिमार्फत आज साँझ वा भोलि बिहान केन्द्रीय कार्यालयमा रहेको डेस्कमा सम्पर्क गरेपछि आवश्यक आवास व्यवस्थापन गरिने जनाइएको छ।
त्यसैगरी, भोजनतर्फ असोज २२ गते साँझसम्म पूर्वनिर्धारित कार्यक्रमअनुसार व्यवस्था यथावत रहनेछ। थपिएको एक दिनका लागि आवश्यकताअनुसार भृकुटीमण्डपमै भोजनको व्यवस्था गरिने कांग्रेसले जनाएको छ।
महाधिवेशन निर्धारित समयभन्दा एक दिन लम्बिँदा परेको असहजतालाई परिस्थितिको बाध्यताका रूपमा लिएर भोलि बिहानैदेखि एकताबद्ध भएर निर्वाचन प्रक्रियामा सहभागी हुन सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।
कृष्णप्रसाद दुलाल, मुख्य सचिव