कांग्रेस महाधिवेशन : शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने ।

कांग्रेस महाधिवेशन : शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने ।

कुर्सी आवाज २०८३ असोज २२ गते बिहीबार ।

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।महाधिवेशन निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले बिहीबार जारी गरेको सूचनामा मतपत्र छपाइमा केही ढिलाइ भएका कारण निर्धारित समयमा निर्वाचन प्रक्रिया सुरु गर्न नसकिएको जनाइएको छ।

समितिका अनुसार अहिले सबै मतपत्र छपाइ भएर तयार भइसकेका छन्। मतदान प्रक्रियामा खटिने जनशक्ति, मतदान केन्द्रको व्यवस्थापन, स्वयंसेवक तथा आवश्यक सुरक्षा व्यवस्थासमेत तयारी अवस्थामा रहेको सूचनामा उल्लेख छ।

तर रातिको समयमा मतदान गराउँदा मतदाता तथा निर्वाचन प्रक्रियामा पर्न सक्ने कठिनाइ र सम्भावित प्रतिकूल मौसमलाई समेत ध्यानमा राख्दै मतदान बिहानबाट सुरु गर्ने निर्णय गरिएको समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार २०८३ असोज २३ गते बिहान ठीक ७ बजे ज्येष्ठ मतदाताबाट मतदान सुरु हुनेछ। मतदान अपराह्न ३ बजेसम्म जारी रहनेछ।

मतदानका लागि बिहीबार निर्धारण गरिएकै मतदान केन्द्र कायम रहनेछन्। सम्बन्धित प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिको निर्वाचन पनि सोही निर्वाचन कार्यक्रमअनुसार हुने समितिले जनाएको छ।