रंगेलीमा विभिन्न दलका ११५ जना रास्वपामा प्रवेश । कोशी आवाज २०८३ असोज १६ गते शुक्रबार ।
बिराटनगर । मोरङको रंगेली नगरपालिका–५ मा विभिन्न राजनीतिक दलमा आबद्ध ११५ जना नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
जसपा नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा आबद्ध नेता तथा कार्यकर्ताहरू सामूहिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गर्नेमा जसपा नेपालका पूर्व केन्द्रीय सदस्य तथा रंगेली नगर अध्यक्ष नरेशकुमार मण्डल, नगर उपाध्यक्ष रञ्जिता देवी मण्डल, सचिव कुन्दन मण्डल, सहसचिव नवीन मण्डललगायत नेता तथा कार्यकर्ता रहेका छन्। त्यस्तै, माओवादी केन्द्रबाट जोगेन्द्रप्रसाद मण्डल, अशोक मण्डल, अम्बिका देवी मण्डल तथा नेपाली कांग्रेसबाट सञ्जीव मण्डललगायत रास्वपामा आबद्ध भएका छन्।
पार्टी प्रवेश गर्दै जसपा नेपालका पूर्व केन्द्रीय सदस्य तथा रंगेली नगर अध्यक्ष नरेशकुमार मण्डलले लामो समय विभिन्न राजनीतिक दलमा रहेर काम गर्दा जनताको अपेक्षा र स्थानीय समस्यालाई नजिकबाट बुझ्ने अवसर पाएको बताए। पुरानै राजनीतिक शैलीबाट अपेक्षित परिवर्तन सम्भव नहुने महसुस भएपछि नयाँ राजनीतिक विकल्पका रूपमा रास्वपामा आबद्ध भएको उनको भनाइ छ।
त्यस्तै, कांग्रेसबाट रास्वपामा प्रवेश गरेका सञ्जीव मण्डलले पार्टी परिवर्तन मात्र आफ्नो उद्देश्य नभएको बताउँदै जनताको आवाजलाई प्राथमिकतामा राखेर काम गर्ने राजनीतिक संस्कार आवश्यक रहेको बताए।
कार्यक्रममा रास्वपाका महाधिवेशन प्रतिनिधि गणेश आचार्यले विभिन्न दलबाट आएका नेता तथा कार्यकर्ताको प्रवेशले रंगेलीमा पार्टीको संगठनात्मक गतिविधि विस्तारमा सहयोग पुग्ने बताए।
कार्यक्रममा रास्वपा मोरङ जिल्ला सभापति भरत कँडेल, महाधिवेशन प्रतिनिधि गणेश अर्याल, बजरङ्ग अग्रवाल, नगर सभापति हरेन्द्र बराल, वडा सभापति निरोज मण्डल लगायत स्थानीय समाजसेवी, बुद्धिजीवी तथा अन्य नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।
विभिन्न दलमा सक्रिय रहेका नेता तथा कार्यकर्ताहरूको सामूहिक रास्वपा प्रवेशलाई रंगेलीको स्थानीय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।