रंगेली नगर अस्पताल बन्यो फेरि उत्कृष्ट, तर कुपोषणको चुनौती कायमै ।

रंगेली नगर अस्पताल बन्यो फेरि उत्कृष्ट, तर कुपोषणको चुनौती कायमै ।

कोशी आवाज २०८३ श्रावण ८ गते शुक्रबार ।

बिराटनगर । मोरङको रंगेली नगर अस्पताल न्यूनतम सेवा मापदण्ड लेखाजोखा (MSS) मा गत वर्षभन्दा थप सुधार गर्दै फेरि उत्कृष्ट बन्न सफल भएको छ। अस्पतालले गत वर्ष ८९ प्रतिशत अंक प्राप्त गरेकोमा यस वर्ष ९० प्रतिशत अंक हासिल गरेको हो।

अस्पतालको सेवा प्रवाहमा सुधार हुँदै गए पनि रंगेली नगरपालिकामा कुपोषणको अवस्था भने अझै चुनौतीपूर्ण देखिएको छ। राष्ट्रिय पोषण स्क्रिनिङ अभियान–२०८३ को तथ्यांकअनुसार कोशी प्रदेशका १७ स्थानीय तह उच्च शीघ्र कुपोषण (Wasting) को सूचीमा परेका छन्। उक्त सूचीमा रंगेली नगरपालिका पाँचौँ स्थानमा रहेको जनाइएको छ।

एकातिर रंगेली नगर अस्पतालले स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्दै उत्कृष्टता हासिल गरिरहेको छ भने अर्कोतिर बालबालिकामा कुपोषणको समस्या गम्भीर चुनौतीका रूपमा देखिएको छ। यसले स्थानीय सरकारले पोषण सुधारका कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखाएको छ।

विडम्बना, कुपोषण नियन्त्रणका लागि योग्य पोषणविद् (Nutritionist) तथा डाइटिसियन (Dietitian) आवश्यक भए पनि उनीहरू बेरोजगार रहने अवस्था रहेको सरोकारवालाहरूको गुनासो छ। सरकारी निर्देशन, बजेट तथा योजना हुँदाहुँदै पनि स्थानीय तहमा पोषण कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नु गम्भीर विषय बनेको छ।

संघीय सरकारले सम्बन्धित स्थानीय तहलाई पोषण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न, आवश्यक बजेट परिचालन गर्न तथा कुपोषित बालबालिकाको पहिचान र उचित व्यवस्थापन गर्न निर्देशन दिँदै आएको छ। अब रंगेली नगरपालिकाले अस्पतालको सेवा सुधारसँगै कुपोषण न्यूनीकरणका कार्यक्रमलाई पनि प्राथमिकतामा राख्नुपर्ने देखिएको छ।