मोरङका कांग्रेस नेता भीम पराजुली गगन थापा पक्षमा खुले ।

मोरङका कांग्रेस नेता भीम पराजुली गगन थापा पक्षमा खुले ।

कोशी आवाज २०८३ भदौ ३१ गते बुधबार ।

विराटनगर । नेपाली कांग्रेस मोरङका नेता भीम पराजुलीले पार्टीको पुनरुत्थानका लागि गगन थापाको नेतृत्व आवश्यक रहेको धारणा सार्वजनिक गर्दै आफू गगन पक्षमा रहेको बताएका छन्।

देउवा पक्षबाट मोरङका लागि केन्द्रीय प्रतिनिधि तोकिएका पराजुलीले कांग्रेसको चारतारे झण्डा र रूख चिन्ह पार्टीका नेता–कार्यकर्ताको संघर्ष, योगदान र स्वाभिमानसँग जोडिएको उल्लेख गर्दै यथास्थितिवादी सोचबाट पार्टी अघि बढ्न नसक्ने बताएका छन्।

देश संकटपूर्ण अवस्थामा रहेको भन्दै उनले परम्परागत गुटबन्दीभन्दा माथि उठेर लोकतन्त्रको जग बलियो बनाउन नयाँ नेतृत्वका पक्षमा उभिनुपर्ने धारणा राखेका छन्।

पराजुलीले सभापति शेरबहादुर देउवा पक्षको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै जनचाहनाअनुसार अघि बढ्न कांग्रेसजन गगन थापाको नेतृत्वमा एकताबद्ध हुनुपर्ने बताएका छन्।

उनले देउवा पक्षका पुराना तथा पाका नेताहरूलाई गुटगत राजनीतिभन्दा माथि उठेर अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गर्दै पार्टी एकताका लागि सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई अपिल गरेका छन्।