बाढी प्रभावित क्षेत्रमा हैजाविरुद्ध खोप अभियान सुरु ।

बाढी प्रभावित क्षेत्रमा हैजाविरुद्ध खोप अभियान सुरु ।

कोशी आवाज २०८३ बहादुर २३ गते मंगलबार ।

बिराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा हैजा लगायतका विभिन्न संक्रामक रोग फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले खोप अभियान सुरु गरेको छ।

सरकारसँग मौज्दात रहेको १ लाख २ हजार १२३ डोज हैजाविरुद्धको खोप बाढी प्रभावित जिल्लाहरूमा पठाउन थालिएको छ। जसअन्तर्गत रसुवामा मुखबाट दिइने २१ हजार ६ सय डोज खोप हेलिकप्टरमार्फत पठाइसकिएको छ। रसुवामा आगामी भदौ २५ गतेदेखि खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।

त्यस्तै, नुवाकोटका लागि ८० हजार ५२३ डोज खोप स्थलमार्गबाट पठाइँदैछ। नुवाकोटमा पनि यही साताभित्र खोप अभियान सुरु गर्ने सरकारको तयारी छ।

खोप प्रभावित क्षेत्रका वडा कार्यालयमार्फत स्वास्थ्य स्वयंसेवकहरूले नागरिकलाई खुवाउनेछन्। १ वर्ष वा सोभन्दा माथिका सबै नागरिकलाई हैजाविरुद्धको खोप दिइनेछ। बाढी प्रभावित क्षेत्रमा सम्भावित हैजाको महामारी रोकथामका लागि पूर्वतयारीस्वरूप अभियान सञ्चालन गर्न लागिएको हो।

यसैगरी, रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा टिडी तथा दादुरा–रुबेला खोप अभियान समेत सञ्चालन गर्ने सरकारको तयारी छ। उद्धार तथा राहतमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा चोटपटक लागेका नागरिकलाई टिटानसबाट जोगाउन टिडी खोप दिइनेछ।

दादुरा–रुबेला खोप भने ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी आगामी दुई साताभित्र सञ्चालन गर्ने योजना रहेको छ।

खोप ऐनअन्तर्गत गठित राष्ट्रिय खोप सल्लाहकार समितिले बाढी प्रभावित क्षेत्रमा सरसफाइको कमीका कारण हैजा तथा अन्य संक्रामक रोगको महामारी फैलिन सक्ने जोखिम रहेकाले पूर्वतयारीस्वरूप खोप अभियान सञ्चालन गर्न सिफारिस गरेको हो।

खोप तथा स्वास्थ्य सेवासम्बन्धी थप जानकारीका लागि ‘हेलो स्वास्थ्य’को टोल फ्री नम्बर १११५ मा सम्पर्क गर्न सकिनेछ।