सिक्टी/बरदाहा क्षेत्रमा SSB–प्रहरीको ठूलो कारबाही, २३६ बोतल नेपाली मदिरासहित तस्कर पक्राउ ।
कोशी आवाज २०८३ भदौ २२ गते सोमबार ।
विराटनगर । भारतको बिहारस्थित सिक्टी/बरदाहा क्षेत्रमा ५२औँ वाहिनी सशस्त्र सीमा बल (SSB) र बिहार प्रहरीले संयुक्त रूपमा कारबाही गर्दै २३६ बोतल नेपाली मदिरासहित एक जनालाई पक्राउ गरेको छ।

सीमा स्तम्भ नम्बर १६४ नजिक बरदाहा क्षेत्रमा शनिबार राति करिब १०ः३० बजे संयुक्त नाका ड्युटीका क्रममा गोप्य सूचनाका आधारमा नाका चेकजाँच गरिएको थियो।

नेपालतर्फबाट भारत प्रवेश गर्दै गरेका एक व्यक्तिलाई रोकेर खानतलासी गर्दा उनको साथबाट फाइटर ब्रान्डको ३०० एमएलका २३६ बोतल नेपाली मदिरा बरामद भएको हो। बरामद मदिराको कुल परिमाण ७०.८ लिटर रहेको जनाइएको छ।
पक्राउ पर्नेमा अररिया जिल्ला, सिक्टी थाना, बरदाहा निवासी ४५ वर्षीय मुजाहिद, पिता जैनुद्दीन रहेका छन्।
बरामद मदिरा नियन्त्रणमा लिइएको छ भने पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि सिक्टी थाना प्रहरीलाई बुझाउने तयारी गरिएको जनाइएको छ।
उक्त कारबाही ५२औँ वाहिनी SSB का कमान्डेन्ट मितुल कुमारको निर्देशनमा गरिएको जनाइएको छ।