कप्तानगञ्ज घटनाबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्र, पाँच बुँदे मागसहित तीन दिने अल्टिमेटम ।
कोशी आवाज २०८३ श्रावण २२ गते शुक्रबार ।
विराटनगर । नेपाली कांग्रेस सुनसरीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको गोलीकाण्डको निष्पक्ष छानबिन र पीडितलाई न्यायको माग गर्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न, पीडित तथा प्रभावित नागरिकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, गृहमन्त्रीले पीडित परिवारसँग गरेको सहमति तत्काल कार्यान्वयन गर्न तथा जिल्लामा शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी कदम चाल्नुपर्ने लगायत पाँच बुँदे माग राखिएको छ।
नेपाली कांग्रेस सुनसरीले आफ्ना मागहरू तीन दिनभित्र सम्बोधन गरी कार्यान्वयन गर्न सरकारलाई अल्टिमेटम दिएको छ। तोकिएको अवधिभित्र माग पूरा नभए चरणबद्ध शान्तिपूर्ण आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि ज्ञापनपत्रमार्फत दिइएको छ।
कांग्रेस सुनसरीले कप्तानगञ्ज घटनाबाट प्रभावित नागरिकलाई न्याय दिलाउन र जिल्लामा शान्ति तथा विश्वासको वातावरण कायम गर्न सरकारले तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिएको छ।