सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्‍यो ।

सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्‍यो ।

कोशी आवाज २०८३ साउन २० गते बुधबार ।

काठमाडौं । सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

संशोधित नियमावलीअन्तर्गत साविकको तथ्याङ्क नियमावली, २०८० का विभिन्न पाँच वटा नियम तथा अनुसूचीमा संशोधन गरिएको छ। साथै नियमावलीको नाम परिवर्तन गरी तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ कायम गरिएको छ।

सरकारले सूक्ष्म कोरा तथ्याङ्क तथा गणना क्षेत्र नक्सा उपलब्ध गराउँदा लाग्ने शुल्कसमेत संशोधन गरेको छ। संशोधनअनुसार गणना शीर्षकअन्तर्गत नेपालस्थित विद्यालय, कलेज तथा विश्वविद्यालयका विद्यार्थीका लागि लाग्दै आएको रु ४ हजार शुल्क घटाएर रु २ हजार कायम गरिएको छ। त्यसैगरी सर्वेक्षण शीर्षकअन्तर्गत विद्यार्थीका लागि लाग्ने रु २ हजार ५०० शुल्क घटाएर रु १ हजार २०० कायम गरिएको छ।

त्यसैगरी, गणना क्षेत्र नक्सा शीर्षक थप गरी संस्थाका लागि रु २०० र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका लागि रु ३०० शुल्क निर्धारण गरिएको सरकारले जनाएको छ।

संशोधित नियमावलीले मूल नियमावलीको नियम १७ मा समेत परिवर्तन गरेको छ। अब तथ्याङ्क सङ्कलनका लागि जनशक्ति परिचालन गर्नुअघि सम्बन्धित कार्यालयले जारी गरेको तालिम सञ्चालनसम्बन्धी निर्देशनअनुसार सैद्धान्तिक र व्यवहारिक दुवै पक्ष समेटिने गरी अनिवार्य रूपमा तालिम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

सरकारका अनुसार नियमावली संशोधनले तथ्याङ्क सङ्कलन प्रक्रियालाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउनुका साथै विद्यार्थी तथा अनुसन्धानकर्तालाई आवश्यक तथ्याङ्कमा सहज पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ।