विराटनगरको नोबेल अस्पताल नजिकको सुकुम्बासी बस्ती तत्काल नहटाइने ।
कोशी आवाज २०८३ असार ३२ गते बिहिबार ।
विराटनगर । मोरङ क्षेत्र नं. ६ की प्रतिनिधिसभा सदस्य रुबिना आचार्यले विराटनगर महानगरपालिका–४, नोबेल अस्पताल नजिक नहर किनारमा करिब ४५ वर्षदेखि बसोबास गर्दै आएका करिब ६५ घरधुरी रहेको सुकुम्बासी बस्ती हालका लागि नहटाइने जानकारी दिएकी छन्।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा सम्बन्धित पक्षबीच भएको छलफलपछि वर्षायाम, स्थानीय बासिन्दाको सुरक्षा, मानवीय संवेदनशीलता तथा समग्र परिस्थितिलाई ध्यानमा राख्दै बस्ती हटाउने प्रक्रिया केही समयका लागि स्थगित गर्ने निर्णय गरिएको हो।
वास्तविक सुकुम्बासीको पहिचान, तथ्याङ्क संकलन तथा आवश्यक कानुनी प्रक्रिया भने प्रचलित कानुनअनुसार निरन्तर अघि बढाइनेछ। यस विषयमा गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग आवश्यक समन्वय भइसकेको पनि जनाइएको छ।
सम्बन्धित निकायले दीर्घकालीन, न्यायोचित र दिगो समाधानका लागि आवश्यक संवाद तथा समन्वय जारी रहने जनाएको छ। साथै, अपुष्ट सूचना वा अफवाहमा विश्वास नगरी आधिकारिक जानकारीमात्र अनुसरण गर्न सबैमा आग्रह गरिएको छ।