कांग्रेसको आन्तरिक मामिलामा धेरै बोल्नु उपयुक्त हुँदैन : योगेश भट्टराई

कांग्रेसको आन्तरिक मामिलामा धेरै बोल्नु उपयुक्त हुँदैन : योगेश भट्टराई

कोशी आवाज २०८२ माघ २ गते शुक्रबार ।

मोरङ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको आन्तरिक मामिलामा धेरै बोल्न उपयुक्त नहुने बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

उपमहासचिव भट्टराईले विभाजित कांग्रेस कुनै उपायबाट पुनः एक हुने अवस्था बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको नेपालको पुरानो पार्टी नेपाली कांग्रेस विभाजन हुनु दुःखद् भएको उनले उल्लेख गरेका छन्।

संविधान विपरीत दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर नेकपा एमाले विभाजित गरिएको स्मरण गर्दै उनले त्यसबेला शेरबहादुर देउवा प्रधानमन्त्री रहेको प्रसंग समेत उठाएका छन्। उनले लेखेका छन्, ‘संसद् एक महिना नारा लगाएको मलाई सम्झना छ। सभामुखले सुन्नै सुन्नु भएन। त्यतिबेला हामीले भनेका थियौँ– प्रधानमन्त्रीज्यू, कुनै बेला तपाईँलाई पनि आइपर्ला है? २०५४ साल फागुनमा एमाले विभाजन हुँदा तत्कालीन सभामुखको भूमिका के थियो?’

भट्टराईले नेपाली कांग्रेसको वर्तमान विवाद पार्टीको विधान, नेपालको संविधान तथा राजनीतिक दलसम्बन्धी ऐनका आधारमा कानुनी रूपमा टुंगो लाग्ने विश्वास व्यक्त गरेका छन्। साथै, टुटफुट र विभाजनतर्फ कसैले कसैलाई उकास्न नहुने भन्दै संयमता अपनाउन आग्रह गरेका छन्।