सुनबर्सीमा विकास निर्माणले लियो गति, उपप्रमुख मीरा देवीदासको सक्रिय अनुगमन ।
कोशी आवाज २०८३ असार १९ गते शुक्रबार ।
बिराटनगर । सुनबर्सी, मोरङ – स्थानीय तहको विकास केवल सडक, भवन र भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित हुँदैन। जनप्रतिनिधिको उत्तरदायी नेतृत्व, विकास आयोजनाको नियमित अनुगमन, जनताका समस्या प्रत्यक्ष रूपमा सुन्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्यले पनि समृद्ध स्थानीय सरकार निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ। यही जिम्मेवारीलाई आत्मसात् गर्दै सुनबर्सी नगरपालिकाकी उपप्रमुख मीरा देवीदास पछिल्लो समय विकास निर्माणका योजनाको नियमित अनुगमन, गुणस्तर परीक्षण तथा नगरवासीका गुनासा र समस्याको समाधानमा सक्रिय रूपमा खटिएकी छन्।
नगरपालिकाभित्र सञ्चालन भइरहेका सडक, भवन, मन्दिर, सामुदायिक संरचना तथा अन्य विकास आयोजनाको स्थलगत निरीक्षण गर्दै उपप्रमुख मिरा देवीदासले निर्माण कार्य निर्धारित मापदण्डअनुसार भए–नभएको, गुणस्तर कायम गरिएको छ–छैन र समयमै सम्पन्न हुने अवस्था कस्तो छ भन्ने विषयमा सम्बन्धित प्राविधिक र निर्माण व्यवसायीसँग आवश्यक छलफल तथा निर्देशन दिँदै आएकी छन्।
उहाँले विकास निर्माणमा कुनै पनि प्रकारको लापरवाही हुन नदिन नियमित रूपमा अनुगमनलाई प्राथमिकता दिएको बताइएको छ। साथै, निर्माणाधीन योजनामा देखिएका समस्या, स्थानीयवासीका सुझाव र आवश्यकताका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी समाधानको पहलसमेत गरिरहनुभएको छ।
स्थानीयवासीका अनुसार उपप्रमुख मिरा देवीदास जनताको सुख–दुःखमा सधैँ साथ दिने, उनीहरूका समस्या प्रत्यक्ष रूपमा सुन्ने र सकेसम्म समाधानका लागि पहल गर्ने जनप्रतिनिधिका रूपमा परिचित हुनुहुन्छ। धेरै काम गर्ने तर कम बोल्ने उहाँको कार्यशैलीप्रति स्थानीयले सकारात्मक प्रतिक्रिया जनाउँदै विकासप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका छन्।
विकास निर्माणसँगै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन नगरपालिकाले विभिन्न योजना कार्यान्वयन गरिरहेको जनाइएको छ। उपप्रमुख मिरा देवीदासले जनताको विश्वासलाई कायम राख्दै गुणस्तरीय विकास र उत्तरदायी स्थानीय सरकार निर्माणका लागि आफू निरन्तर खटिरहने प्रतिबद्धता व्यक्त गरेको स्थानीय स्रोतले जनाएको छ।
स्थानीय सरोकारवालाहरूले भने कुनै पनि पालिकाको विकासको मूल्याङ्कन गर्दा त्यसको आन्तरिक आम्दानीका स्रोत, भौगोलिक अवस्था, जनसंख्या, उपलब्ध स्रोत–साधन र आर्थिक क्षमता लाई समेत आधार बनाउनुपर्ने बताएका छन्। सबै पालिकालाई एउटै मापदण्डमा तुलना गर्नु उपयुक्त नहुने उनीहरूको भनाइ छ।
उनीहरूले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट टिप्पणी गर्नुअघि पालिकामा भइरहेको वास्तविक विकास गतिविधि, सेवा प्रवाह र उपलब्ध स्रोतको अवस्था बुझेर मात्र निष्पक्ष मूल्याङ्कन गर्न सबैसँग आग्रह गरेका छन्।