रङ्गेली–६ स्थित श्री पब्लिक माध्यमिक विद्यालयमा सशस्त्र प्रहरीद्वारा खेलकुद सामग्री वितरण तथा मैत्रीपूर्ण भलिबल खेल सम्पन्न ।
कोशी आवाज २०८३ आषाढ ५ गते शुक्रबार ।
विराटनगर । रङ्गेली नगरपालिका–६ स्थित श्री पब्लिक माध्यमिक विद्यालयमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्मी (सोराभाग) द्वारा BADP कार्यक्रमअन्तर्गत खेलकुद तथा खेलकुद सामग्री वितरणसहित मैत्रीपूर्ण भलिबल खेल कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा सशस्त्र प्रहरी बल र श्री पब्लिक माध्यमिक विद्यालयका विद्यार्थीबीच मैत्रीपूर्ण भलिबल खेल आयोजना गरिएको थियो। खेलको उद्देश्य विद्यार्थीहरूमा खेलप्रति रुचि वृद्धि गर्नु, शारीरिक तथा मानसिक क्षमता अभिवृद्धि गर्नु तथा अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नु रहेको आयोजकले जनाएको छ।
उक्त मैत्रीपूर्ण खेलमा सशस्त्र प्रहरी टोलीले विजय हासिल गरेको थियो। खेलमा विद्यालयका विद्यार्थीहरूले समेत उत्साहपूर्ण सहभागिता जनाएका थिए। खेलको दौरान उपस्थित विद्यार्थी, शिक्षक–शिक्षिका तथा स्थानीय बुद्धिजीवीहरूले मनोरञ्जनात्मक वातावरणमा केही समय बिताउँदै कार्यक्रमको भरपूर आनन्द लिएका थिए।
कार्यक्रममा सशस्त्र प्रहरी नायब उपनिरीक्षक गोविन्द पोखरेलले बोल्दै यस्ता कार्यक्रमले समाज र सुरक्षा निकायबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “जो कोही जिते पनि मुख्य उद्देश्य स्वच्छ वातावरणमा खेलको आनन्द लिनु हो। यस्ता सामाजिक तथा खेलकुद कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच र अनुशासन विकास गर्न सहयोग पुर्याउँछ। हाम्रो संगठन यस्ता गतिविधिमा सधैं अग्रसर रहन्छ र आगामी दिनमा पनि निरन्तरता दिइनेछ।”
त्यसैगरी सशस्त्र प्रहरी बल बौका चौप्राहा रङ्गेली सशस्त्र प्रहरी निरीक्षक तथा इन्चार्ज सन्तोष देवकोटा, धनपट्टीका सशस्त्र प्रहरी निरीक्षक तथा इन्चार्ज निलहरी दाहाल लगायत सशस्त्र प्रहरी बलका विभिन्न पदमा कार्यरत सुरक्षाकर्मीहरूको समेत उपस्थिति रहेको थियो।
विद्यालयतर्फबाट प्रधानाध्यापक अरविन्द शाह, शिक्षक–शिक्षिका, विद्यार्थीहरू तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले सशस्त्र प्रहरीद्वारा गरिएको यस प्रकारको सहयोग तथा खेलकुद कार्यक्रमले विद्यालयको वातावरणमा सकारात्मक ऊर्जा थपेको प्रतिक्रिया दिएका छन्।
कार्यक्रमअन्तर्गत विद्यालयलाई विभिन्न खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो। उक्त सामग्रीले विद्यार्थीहरूलाई नियमित खेल अभ्यासमा प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिएको छ। सशस्त्र प्रहरी बलले विद्यालय तथा समुदायसँग सहकार्य गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद तथा सामाजिक विकासका क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
कार्यक्रम सौहार्दपूर्ण, उत्साहपूर्ण तथा भव्य वातावरणमा सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ।