विराटनगरको नाममा दुईपटक च्याम्पियन, तर महानगरपालिकाको सहयोग शून्य ।

विराटनगरको नाममा दुईपटक च्याम्पियन, तर महानगरपालिकाको सहयोग शून्य ।

कोशी आवाज २०८३ असार ३ गते बुधबार ।

विराटनगर । इटहरीमा आयोजित दोस्रो र तेस्रो संस्करणको प्रतियोगितामा विराटनगर महानगरपालिकाभित्रका खेलाडीहरूले सहभागिता जनाउँदै लगातार उपाधि जितेका थिए। खेलाडीहरूका अनुसार दुवै संस्करणमा महानगरको नामबाट प्रतिस्पर्धा गरे पनि महानगरपालिकाबाट कुनै उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको थिएन।

दोस्रो संस्करणमा उपाधि जितेपछि ट्रफी विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो। तर तेस्रो संस्करणमा आर्थिक सहयोगको अपेक्षा पूरा नभएपछि एक क्लब तथा संस्थाको पहलमा टोली प्रतियोगितामा सहभागी भएको र पुनः उपाधि जित्न सफल भएको उनीहरूको भनाइ छ। त्यसपछि उक्त ट्रफी पनि सम्बन्धित संस्था तथा क्लबमै राखिएको थियो।

यसैबीच, काठमाडौंमा आयोजना हुन लागेको आगामी प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाको नाममा टोली पठाउने तयारी भइरहेको छ। उक्त टोलीका लागि महानगरपालिकाबाट आर्थिक सहयोग हुन सक्ने चर्चा र सूचना बाहिरिएपछि विगतमा प्रतियोगितामा सहभागी भएका केही खेलाडीहरूले चासो तथा असन्तुष्टि व्यक्त गरेका छन्।

खेलाडीहरूका अनुसार विगतमा विराटनगरकै खेलाडीहरूले महानगरको नाममा उपाधि जित्दा सहयोग नपाएको अनुभव छ। जबकि अहिले तयारी भइरहेको टोलीमा विराटनगरका खेलाडीका साथै महानगर बाहिर तथा कोशी प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरू समेत समावेश रहेको बताइएको छ।

उनीहरूको प्रश्न छ, “विगतमा विराटनगरकै खेलाडीहरूले महानगरको नाममा उपाधि जित्दा सहयोग नपाएको अवस्थामा अहिलेको टोलीलाई सहयोग गर्ने विषयमा के धारणा छ ?”
यस विषयमा सम्बन्धित निकायको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी रहेको छ।