बासे गुफा चौरीको विकासमा भुल्के सुन्तली सामुदायिक वन का अध्यक्ष भिम लिम्बूको सक्रियता, निर्माण सम्पन्न नभएसम्म पर्यटकलाई प्रतीक्षा गर्न आग्रह ।

बासे गुफा चौरीको विकासमा भुल्के सुन्तली सामुदायिक वन का अध्यक्ष भिम लिम्बूको सक्रियता, निर्माण सम्पन्न नभएसम्म पर्यटकलाई प्रतीक्षा गर्न आग्रह ।

कोशी आवाज २०८३ जेठ २३ गते सनिवार ।

बिराटनगर  । कानेपोखरी गाउँपालिका–६ स्थित भुलेक सुन्तली सामुदायिक वन क्षेत्रभित्र रहेको प्राकृतिक बासे गुफा चौरी पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेसँगै आन्तरिक पर्यटकहरूको प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ।

दैनिक रूपमा सयौँको संख्यामा पर्यटकहरू गुफा चौरी अवलोकनका लागि पुग्न थालेपछि यसको चर्चा झन् बढेको छ।

यस क्षेत्रको संरक्षण, विकास तथा व्यवस्थापनमा भुल्के सुन्तली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भिम लिम्बू अग्रपंक्तिमा देखिएका छन्। अध्यक्ष लिम्बूको नेतृत्वमा गुफा चौरीलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने कार्य तीव्र रूपमा अघि बढिरहेको बताइएको छ।
अध्यक्ष लिम्बूका अनुसार बासे गुफा चौरी हाल निर्माणाधीन अवस्थामा रहेकोले आवश्यक पूर्वाधार निर्माण, विद्युत्, खानेपानी, सुरक्षा तथा अन्य व्यवस्थापनका कार्यहरू सम्पन्न नभएसम्मका लागि पर्यटकहरूको प्रवेश अस्थायी रूपमा बन्द गरिएको हो। उनले पर्यटकहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै केही समय धैर्य गर्न आग्रह गरेका छन्।

“प्राकृतिक सम्पदाको संरक्षणसँगै व्यवस्थित पर्यटन विकास हाम्रो मुख्य उद्देश्य हो।

सम्पूर्ण निर्माण तथा व्यवस्थापनका कार्य सम्पन्न भएपछि औपचारिक रूपमा सञ्चालनमा ल्याएर आन्तरिक तथा बाह्य पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्नेछौँ,” अध्यक्ष लिम्बूले जानकारी दिए।

स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा प्राकृतिक सम्पदाको संरक्षणलाई केन्द्रमा राखेर अध्यक्ष लिम्बूको नेतृत्वमा भइरहेको पहलको स्थानीयवासीले समेत प्रशंसा गरेका छन्।

निर्माण कार्य सम्पन्न भएपछि बासे गुफा चौरी मोरङ जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ।