रंगेलीको सन ग्लोरीमा निःशुल्क वृहत् आँखा जाँच शिविर, ३६ विद्यार्थीमा समस्या पहिचान ।
कोशी आवाज २०८३ जेठ २० गते बुधबार ।
विराटनगर । मोरङको रंगेली–७ स्थित सन ग्लोरी इङ्ग्लिस बोर्डिङ स्कुलमा बुधबार निःशुल्क वृहत् आँखा जाँच शिविर सम्पन्न भएको छ। विद्यार्थीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आयोजित शिविरमा सीमावर्ती रानीस्थित विराटनगर आँखा अस्पतालका ९ सदस्यीय विशेषज्ञ टोलीले सेवा प्रदान गरेको थियो।
शिविरमा विद्यालयका ७७० जना विद्यार्थीको आँखा परीक्षण गरिएको विद्यालयका प्राचार्य प्रमोद मण्डलले जानकारी दिए। जाँचका क्रममा २७ जना विद्यार्थीमा दृष्टिदोष, ५ जनामा डेढोपन (Squint) तथा ४ जनामा आँखा रातो हुने, पाक्ने र चिलाउनेजस्ता मौसमजन्य समस्या देखिएको उनले बताए।
विशेषज्ञ टोलीका अनुसार आँखा सम्बन्धी समस्या देखिएका ३६ जना विद्यार्थीको थप परीक्षण तथा उपचार रानीस्थित विराटनगर आँखा अस्पतालमा गरिनेछ।

प्राचार्य मण्डलले अभिभावक, विद्यार्थी, शिक्षक तथा स्वास्थ्यकर्मीहरूको सक्रिय सहयोगका कारण शिविर सफल र प्रभावकारी बनेको बताए। “सबै पक्षको सहकार्य र सद्भावका कारण कार्यक्रम उदाहरणीय रूपमा सम्पन्न भएको छ,” उनले भने।
शिविरमा सहभागी छात्रा आकृति शाह, आस्था ठाकुर र प्रिया पौदारले विद्यालयमै निःशुल्क आँखा परीक्षणको सुविधा पाउँदा स्वास्थ्य सचेतना बढेको बताइन्। “यस कार्यक्रमले आँखाको हेरचाहप्रति हामीलाई अझ सचेत बनाएको छ,” उनीहरूले भनिन्।
त्यस्तै, छात्र नितेश कुमार मण्डलले विद्यालयमै विशेषज्ञ चिकित्सकबाट आँखा जाँच गराउन पाउँदा आफूहरू उत्साहित भएको प्रतिक्रिया दिए। “स्कुलको यस पहलबाट अभिभावकहरू पनि निकै खुसी हुनुभएको छ,” उनले भने।
विद्यालयमा करिब ९ सय विद्यार्थी अध्ययनरत छन्। अत्यधिक गर्मीका कारण केही विद्यार्थी शिविरमा सहभागी हुन नसकेको विद्यालय व्यवस्थापनले जनाएको छ।

विद्यालयका सहप्राचार्य जितेन्द्र साहले जटिल समस्या देखिएका विद्यार्थीको थप उपचारका लागि अभिभावकसँग समन्वय गरी विराटनगर आँखा अस्पतालसँग आवश्यक सहकार्य गरिने जानकारी दिए।
विद्यार्थीको स्वास्थ्य र सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। भविष्यमा पनि यस्ता रचनात्मक तथा स्वास्थ्य प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछौँ,” सहप्राचार्य साहले भने।

विद्यालयले आयोजना गरेको यस शिविरले विद्यार्थीमा आँखाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै प्रारम्भिक चरणमै समस्या पहिचान गरी उपचारको बाटो खुला गरेको सहभागीहरूले बताएका छन्।