नम्बर प्लेट लेखन सम्बन्धी विशेष अभियान, ११ सवारी साधन नियन्त्रणमा ।
कोशी आवाज २०८३ जेठ २१ गते बिहिबार ।
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सवारी साधनमा नम्बर प्लेट स्पष्ट राख्नुपर्ने नियम कार्यान्वयनका लागि विशेष अभियान सञ्चालन गरेको छ।

मिति २०८३ जेठ २१ गते रतुवामाई नगरपालिका–४ स्थित आमबारी चोकको हुलाकी सडक खण्डमा प्रचौ झुर्किया मोरङ र अस्थायी ट्राफिक प्रहरी पोस्ट दाम्राभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधनहरूको चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा नम्बर प्लेट नभएका, मेटिएका तथा स्पष्ट रूपमा नदेखिने ११ वटा बस, माइक्रोबस, ट्रक, ट्याक्टर, टिपर तथा दुईपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ती सवारी साधनका नम्बर प्लेट तत्काल स्पष्ट रूपमा लेख्न लगाइएको थियो।
साथै, नम्बर प्लेट स्पष्ट नहुँदा हुने जोखिम, सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम पालनाको महत्वबारे चालकहरूलाई सचेतना प्रदान गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सुरक्षित यात्राका लागि सवारी साधनमा नम्बर प्लेट स्पष्ट राख्न र ट्राफिक नियमहरूको पूर्ण पालना गर्न सबै सवारी चालकलाई आग्रह गरेको छ।