जीवन विकास लघु वित्तीय संस्था लिमिटेड द्वारा सिजुवामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३३ जनाले सेवा लिए ।

जीवन विकास लघु वित्तीय संस्था लिमिटेड द्वारा सिजुवामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३३ जनाले सेवा लिए ।

कोशी आवाज २०८३ वैशाख २० गते आइतबार ।

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय सिजुवाको आयोजनामा तथा जीवन विकास सामुदायिक हस्पिटल र टेक्निकल एजुकेसन फाउन्डेसनको सहयोगमा एकदिने निःशुल्क आँखा जाँच तथा जनरल स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरको उद्घाटन सत्रमा शाखा प्रमुख राजकुमार मण्डलको सभापतित्व रहेको थियो भने अस्पताल प्रशासन प्रमुख अनिता गच्छादार प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। सुनवर्षी नगरपालिका–७ की कार्यवाहक वडा अध्यक्ष गीता कुमारी गन्गाई विशिष्ट अतिथि रहिन्। कार्यक्रममा वडा सदस्य जय नारायण ठाकुर, बरडंगा प्रहरी चौकी इन्चार्ज चेत नारायण श्रेष्ठ, विशेषज्ञ डाक्टरहरू, थ्री जिरो क्लबका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको समेत उपस्थिति रहेको थियो।

शिविरबाट कुल ३३३ जना बिरामीले सेवा लिएका छन्। जसमध्ये ३०० जनाको आँखा जाँच, २४० जनाको फिजिसियन सेवा, १२१ जनाको हाडजोर्नी तथा नसा रोग जाँच, ६५ जनाको स्त्री तथा प्रसूति सेवा, ४१ जनाको अल्ट्रासाउन्ड (USG) तथा १८ जनाको ईसीजी (ECG) गरिएको थियो।

त्यसैगरी, १५५ जनाको सुगर जाँच गर्दा २२ जनामा उच्च सुगर देखिएको छ। रक्तचाप परीक्षणमा २९ जनामा उच्च र १३ जनामा न्यून रक्तचाप भेटिएको छ। शिविरका क्रममा २९ जनामा मोतिबिन्दुको समस्या समेत पहिचान गरिएको आयोजकले जनाएको छ।