सडक दुर्घटनाका घाइतेको उद्धार गर्नेलाई कानुनी संरक्षण दिने विधेयक प्रस्ताव

सडक दुर्घटनाका घाइतेको उद्धार गर्नेलाई कानुनी संरक्षण दिने विधेयक प्रस्ताव

कोशी आवाज २०८३ बैशाख १५ गते मंगलवार ।

बिराटनगर । सडक दुर्घटनामा घाइते भएका व्यक्तिको उद्धार गर्दा झेल्नुपर्ने कानुनी झमेला र प्रहरीको अनावश्यक सोधपुछको डर अन्त्य गर्न सरकारले नयाँ विधेयक प्रस्ताव गरेको छ।

प्रस्तावित विधेयकको दफा ५० मा ‘असल उद्धारकर्ता’ (Good Samaritan) लाई विशेष कानुनी संरक्षण प्रदान गर्ने व्यवस्था गरिएको छ। यस व्यवस्था अनुसार, कसैले निस्वार्थ भावनाले दुर्घटनामा घाइते व्यक्तिको उद्धार गरी अस्पताल पुर्‍याउँदा, उपचारकै क्रममा घाइतेको मृत्यु भए पनि उद्धारकर्तामाथि कुनै देवानी वा फौजदारी कारबाही नचलाइने स्पष्ट उल्लेख गरिएको छ।

सरकारले ल्याएको यस प्रावधानले दुर्घटनाका घाइतेलाई तत्काल सहयोग गर्न नागरिकलाई प्रोत्साहित गर्ने विश्वास लिइएको छ। विगतमा कानुनी जटिलता र झन्झटको डरले धेरैले घाइतेको उद्धार गर्न हिच्किचाउने अवस्था देखिएको थियो।

यसैगरी, विधेयकमा अस्पतालहरूको भूमिकालाई पनि स्पष्ट पारिएको छ। अस्पतालहरूले घाइतेका आफन्त उपस्थित नभएको वा उपचार खर्च सुनिश्चित नभएको कारण देखाउँदै उपचार रोक्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ। प्रत्येक स्वास्थ्य संस्थाले अनिवार्य रूपमा प्रारम्भिक उपचार उपलब्ध गराउनुपर्ने बाध्यात्मक प्रावधान मस्यौदामा समावेश गरिएको छ।

सरकारका अनुसार, यो विधेयक पारित भएमा दुर्घटनाका घाइतेले समयमै उपचार पाउने र सर्वसाधारण नागरिक पनि निडर भएर मानवीय सेवामा संलग्न हुन प्रेरित हुने अपेक्षा गरिएको छ।