गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक ।
कोशी आवाज २०८२ चैत २९ गते आइतबार ।
बिराटनगर । गृहमन्त्री सुधन गुरुङले आइतबार आफ्नो आधिकारिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार उनको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको उल्लेख गरिएको छ, जसलाई लगानीबाट जोडिएको सम्पत्ति भनिएको छ।
विवरणमा पुर्ख्यौली सम्पत्तिको हिस्सा पनि उल्लेख छ। उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर–१८ गुञ्जनगरमा ३० कठ्ठा जग्गा रहेको छ भने बाजे रामसल गुरुङको नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको जनाइएको छ, जुन हालसम्म अंशबण्डा भएको छैन।
त्यस्तै, गृहमन्त्री गुरुङसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको विवरणमा उल्लेख छ। मन्त्री परिषद्का सदस्यहरूले पद बहालीपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार उक्त विवरण सार्वजनिक गरिएको हो।