इस्लामावादमा अमेरिका–इरानबीच ऐतिहासिक वार्ता जारी ।

इस्लामावादमा अमेरिका–इरानबीच ऐतिहासिक वार्ता जारी ।

कोशी आवाज २०८२ चैत २९ गते आइतबार ।

विराटनगर । झण्डै पाँच दशक लामो कूटनीतिक गतिरोध र हालैको तनावपूर्ण अवस्थापछि अमेरिका र इरानका उच्च अधिकारीहरूबीच पाकिस्तानको राजधानी इस्लामावादमा निर्णायक वार्ता जारी रहेको छ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक दुई देशका शीर्ष नेतृत्व प्रत्यक्ष वार्तामा बस्नुलाई विश्व राजनीतिमा महत्वपूर्ण ‘ब्रेकथ्रु’ का रूपमा हेरिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफको मध्यस्थतामा इस्लामावादस्थित सेरेना होटलमा वार्ता भइरहेको हो।

वार्तामा अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भान्स तथा इरानको तर्फबाट संसदका सभामुख मोहम्मद बागेर गालिबाफले आ–आफ्नो टोलीको नेतृत्व गरिरहेका छन्।

दुई दिनदेखि जारी संवादमा मुख्यतः युद्धविरामलाई स्थायी शान्ति सन्धिमा रूपान्तरण गर्ने, हर्मुज जलडमरुमा सुरक्षा र अन्तर्राष्ट्रिय व्यापार, इरानको आणविक कार्यक्रममाथि निगरानी तथा आर्थिक प्रतिबन्धसँग सम्बन्धित विषयहरूमा गहन छलफल भइरहेको जनाइएको छ।

स्रोतका अनुसार कतारमा रोक्का गरिएको इरानको अर्बौं डलर बराबरको कोष फुकुवा गर्ने विषयमा दुवै पक्ष सहमति नजिक पुगेका छन्। यद्यपि, अमेरिकाले आणविक कार्यक्रममाथि कडा निगरानीको सर्त राखेको छ भने इरानले आफ्नो सार्वभौमिकताको रक्षा हुनुपर्ने अडान दोहोर्‍याएको छ।

यस वार्ताको प्रभाव विश्व ऊर्जा बजारमा समेत देखिएको छ। वार्ता सकारात्मक दिशातर्फ अघि बढेको संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

दक्षिण एसियाली भू–राजनीतिमा पाकिस्तानले खेलेको मध्यस्थकर्ताको भूमिकालाई चीन र रुस लगायतका देशहरूले नजिकबाट नियालिरहेका छन्। पाकिस्तानी विदेश मन्त्रालयले “यो केवल दुई देशबीचको वार्ता नभई विश्व शान्तिको मार्ग निर्धारण गर्ने प्रक्रिया हो” भन्ने प्रतिक्रिया दिएको छ।

वार्ता आज रातिसम्म जारी रहने अपेक्षा गरिएको छ। यदि ‘शान्ति दस्तावेज’ मा हस्ताक्षर भएमा यसलाई २१ औँ शताब्दीकै महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा लिइनेछ।