मोरङमा दैनिक कार्यप्रगति कार्यान्वयनबारे छलफल, उत्कृष्ट प्रहरी इकाई सम्मानित ।
कोशी आवाज २०८२ चैत ५ गते बिहीबार ।
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङ मा दैनिक कार्यप्रगति विवरण कार्यान्वयनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा मातहतका सम्पूर्ण प्रहरी इकाईका प्रमुखहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा दैनिक कार्यसम्पादन मूल्याङ्कन तथा अभिलेखीकरण ढाँचामा उल्लेखित बुँदाहरूको प्रभावकारी कार्यान्वयनबारे विस्तृत छलफल गरिएको प्रहरीले जनाएको छ।
उक्त अवसरमा फागुन महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी इटहरा लाई सम्मान गरिएको छ। कार्यालय प्रमुख कबित कटवाल ले ती इकाईहरूलाई प्रशंसापत्र प्रदान गरेका थिए।
कार्यक्रममा बदलिँदो परिवेश र समसामयिक सुरक्षा चुनौतीहरूबारे आवश्यक निर्देशन दिँदै समन्वय र उत्तरदायित्वलाई थप प्रभावकारी बनाउन जोड दिइएको थियो।