चितवन–२ बाट नेपाली कांग्रेसले मीना खरेललाई प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय ।
कोशी आवाज २०८२ माघ ४ गते आइतबार ।
बिराटनगर । नेपाली कांग्रेस चितवनले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत निर्वाचन क्षेत्र नम्बर २ बाट महिला अधिकारकर्मी मीना खरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेपाली कांग्रेस चितवनका जिल्ला सचिव ध्रुव पोखरेलका अनुसार पार्टीको क्षेत्रीय समितिले खरेललाई सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। जिल्ला पार्टी स्तरबाट समेत खरेलको नाम लगभग निश्चित भइसकेको उनले जानकारी दिए।
“चितवन–२ मा उहाँको उम्मेदवारी लगभग निश्चित छ,” जिल्ला सचिव पोखरेलले भने, “अब केन्द्रीय संसदीय बोर्डबाट औपचारिक निर्णय हुन बाँकी छ।”
राजनीतिक, सामाजिक तथा महिला अधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी खरेललाई उम्मेदवार बनाउने निर्णयलाई कांग्रेस चितवनले रणनीतिक रूपमा महत्त्वपूर्ण मानेको छ।
चितवन–२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रसमेत हो। यसै क्षेत्रबाट नेकपा एमालेले युवा नेता अस्मिन घिमिरेलाई प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
यससँगै चितवन–२ मा प्रमुख दलबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ।