कोटा प्रणालीप्रति सामाजिक अभियन्ता आशिका तामाङको कडा टिप्पणी ।
कोशी आवाज २०८२ पुस १५ गते मंगलबार ।
मोरङ । सामाजिक अभियन्ता आशिका तामाङले राज्यको कोटा प्रणाली र नेतृत्व चयन प्रक्रियाप्रति गम्भीर प्रश्न उठाएकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नयाँ राजनीतिक अभ्यासबाट ठूलो अपेक्षा राखिएको भए पनि व्यवहारमा भने त्यसको विपरीत देखिएको टिप्पणी गरेकी हुन्।
तामाङले आफूले नयाँ बाटो रोज्नेहरूले कुनै पनि गल्ती नगर्ने र पुरानालाई औँला उठाउने अवसर नदिने विश्वास गरेको बताइन्। तर व्यवहारमा भने निमुखा वर्ग र पछाडि पारिएका जाति–समुदायका लागि छुट्याइएका कोटामा पहुँच र शक्तिका आधारमा व्यक्ति चयन भइरहेको उनको आरोप छ।
उनले लेखेकी छन्, “निमुखा वर्ग र जातिहरूका लागि छुट्याइएका कोटामा अब मिस नेपाल बन्ने रहेछन्, ससुराबा, देश बेचुवा ठेकेदारका छोरा, आसेपासे, छिमेकी, यहाँसम्म कि सानोमा सँगै स्कुल पढेका साथीहरू समेत सांसद र मन्त्री बन्ने अवसर पाउने रहेछन्।”
तामाङको भनाइमा, कोटा प्रणाली वास्तविक रूपमा वञ्चित वर्गको प्रतिनिधित्वका लागि नभई पहुँच, चिनजान र नातागोता भएका व्यक्तिहरूका लागि प्रयोग भइरहेको छ, जसले सामाजिक न्यायको मूल मर्ममाथि प्रश्न खडा गरेको छ।
उनले राज्य र राजनीतिक दलहरूलाई कोटा प्रणालीको उद्देश्यप्रति इमान्दार बन्न आग्रह गर्दै वास्तविक रूपमा उत्पीडित, सीमान्तकृत र अवसरविहीन वर्गलाई प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्।
तामाङको यो टिप्पणी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कोटा प्रणाली, समावेशिता र राजनीतिक नैतिकताबारे बहस चर्किएको छ।