रास्वपा–बालेन वार्ता अनिश्चित, पावर सेयरिङमै अड्कियो सहमति ।
कोशी आवाज २०८२ पुस १२ गते शनिबार ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वको समूहबीच शनिबार हुने भनिएको निर्णायक वार्ता अनिश्चित बनेको छ।
शुक्रबार रातिसम्म भएको छलफलमा बालेन पक्षले ५०–५० प्रतिशत पावर सेयरिङको प्रस्ताव राखेपछि सहमति जुट्न नसकेको बताइएको छ। सभापति रवि लामिछानेलाई कायम राख्ने र भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई प्रस्ताव गर्ने विषयमा मोटामोटी सहमति भए पनि केन्द्रीय समिति तथा प्रतिनिधिसभा उम्मेदवारी छनोटमा आधा–आधा हिस्सा मागिएपछि वार्ता अड्किएको स्रोतको दाबी छ।
सहमति नजुटेपछि बालेनले ‘उज्यालो नेपाल’का संरक्षक कुलमान घिसिङसँग छलफल गरेका छन्। शनिबार बिहान पनि बालेन–कुलमानबीच भेट भए तापनि ठोस प्रस्ताव बाहिर आएको छैन। रास्वपा पक्षले आज कुनै औपचारिक छलफल नभएको जनाउँदै, बालेन पक्षबाट खबर आएमा मात्र छलफलमा बस्ने बताएको छ।
यसैबीच, बालेन समूह कुलमानको निर्णयको प्रतीक्षामा रहेको र रेशम चौधरी तथा सीके राउतलाई समेत समेट्नुपर्ने प्रस्ताव अघि सारेको जनाइएको छ। लगातार छलफल भए पनि अहिलेसम्म कुनै ठोस निष्कर्ष निस्किएको छैन।