रंगेलीको पुरानो हटियामा कृषि बाहेकका व्यापारी संकटमा ।
कोशी आवाज २०८२ मङ्सिर २९ गते सोमबार ।
मोरङ । रंगेलीको पुरानो हटियामा कृषि उपज बाहेकका व्यापारीहरू सुनसान अवस्थाका कारण गम्भीर संकटमा परेका छन्। लुगा–लत्ताकपडा तथा मनिहारा सामान बिक्री गर्दै आएका व्यापारीहरूले व्यवसाय पूर्ण रूपमा चौपट भएको गुनासो गरेका छन्।
व्यापारीहरूका अनुसार नगरपालिकाले कृषि सम्बन्धी नयाँ बजारमा कृषि उपज मात्रै स्थानान्तरण गरेपछि लुगा, कपडा र मनिहारा सामग्री बेच्नेहरू पुरानो हटियामै सीमित भएका छन्। ग्राहकको आवागमन नहुँदा दैनिक कारोबार ठप्प भएको उनीहरूको भनाइ छ।
नगर प्रमुखले पटक–पटक नयाँ हटियामा स्थान व्यवस्थापन गरिदिने आश्वासन दिए पनि हालसम्म कार्यान्वयन नभएको व्यापारीहरूको आरोप छ। दशैंपछि नै स्थान मिलाइदिने भनिए पनि बजार भवनको काम नसकिएको बहाना देखाउँदै प्रक्रिया अगाडि नबढाइएको उनीहरूले बताएका छन्।
चहलपहल नहुँदा आम्दानी शून्य जस्तै भएको र दैनिक गुजारा चलाउनसमेत समस्या परेको व्यापारीहरूको गुनासो छ। यदि नगरपालिकाले छिटो निर्णय नगरे व्यापारीहरू थप आर्थिक संकटमा पर्ने चेतावनीसमेत दिएका छन्।